बारामा हत्या गरिएका शिवपुजन भारतका ‘मोस्ट वान्टेड’ व्यक्ति – Madhesh Update

बारामा हत्या गरिएका शिवपुजन भारतका ‘मोस्ट वान्टेड’ व्यक्ति

   December 25, 2022  

बारामा हत्या गरिएका शिवपुजन प्रसाद यादव भारतको मोस्ट वान्टेड व्यक्ति रहेका खुलेको छ। उनी भारतीय प्रहरीको सर्वाधिक खोजी (मोस्ट वान्टेड) को सूचीमा रहेका पाइएको छ।

भारतको बिहार जिल्ला मोतिहारी छौडादानोका ४५ वर्षीय शिवपुजनविरुद्ध भारतीय प्रहरीमा दर्जनभन्दा बढी उजुरी परेको पाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा एसपी होबिन्द्र बोगटीले जानकारी दिए। ‘हत्या भएपछि अनुसन्धान गर्ने क्रममा शिवपुजन भारतीय प्रहरीको मोस्ट वान्टेड व्यक्ति रहेको पाइयो। उनीविरुद्ध दर्जनभन्दा बढी उजुरी परेको देखिएको छ,’ एसपी बोगटीले भने।

भारतमा व्यक्ति हत्या तथा अन्य जघन्य अपराध गरेर उनी नेपालमा लुक्न आएको देखिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनी भारतीय माओवादी ‘नक्सलाइट’ मा समेत आबद्ध भएको देखिएको छ। उनी विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेको पाइएको छ।

जग्गाको विषयमा विवाद हुँदा उनले आफ्नै ठूलो बुवाको छोराको समेत हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। छौडादानो ग्राम पञ्चायतका उपप्रमुख समेत रहेका उनका ठूलोबुवाका छोरा रमेश यादवको उनले गत चैत १९ गते हत्या गरेको पाइएको प्रहरी स्रोतले जानकारी दियो।

घर घेरा हालेर गोली प्रहार गरी रमेश यादवको हत्या गरिएको थियो। त्यसका मुख्य नाइके उनै शिवपुजन रहेको देखिएको थियो। उक्त घटनापछि उनी फरार भएर वीरगञ्ज, बारा, जनकपुर काठमाडौंलगायतका ठाउँमा लुकेर बस्दै आएका थिए। हत्या हुने दिन शुक्रबार उनी छोरीको खाजा पसल बाराको बरियापुरमा आफ्ना सहयोगीको साथ बसेका पाइएको छ।

उनी नेपालमा लुकेर बसेको सूचना पाएपछि सोही रमेशकै समूहले शिवपुजनको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ।  शिवपुजनविरुद्ध भारतीय प्रहरीमा चोरी, डकैती, हत्या, हातहतियार, कर्तव्य ज्यान जस्ता कसुरमा उजुरी परेका छन्।

हत्या आरोपमा एक जना पक्राउ
यादवको गत शुक्रबार बाराको महागढीमाई नगरपालिका–२ बरियापुरस्थित भुतही पुल नजिकै हत्या गरिएको थियो। दुई वटा मोटरसाइकलमा आएका ५ जनाको समूहले यादवलाई गोली हानेको थियो।

हत्या पश्चात फरार रहेको समूहका १ जनालाई भने प्रहरीले पक्राउ गरेको छ। एसपी बोगटीले १ जनालाई पक्राउ गरिएको पुष्टि गरे पनि थप विवरण भने खुलाउन चाहेनन्। सोमबार पत्रकार सम्मेलन गरेर थप पक्राउ परेका व्यक्ति सार्वजनिक गर्नुका साथै थप विवरण खुलाइने एसपी बोगटीले बताए।

‘शिवपुजनको हत्या आरोपमा पक्राउ पर्ने व्यक्तिको पृष्टभूमि पनि आपराधिक नै रहेको देखिएको छ। भोलि (सोमबार) घटनाबारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं,’ एसपी बोगटीले भने।