लगातार बर्षापछि आएको बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध – Madhesh Update

लगातार बर्षापछि आएको बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

   July 21, 2020  

रौतहट – अविरल बर्षाका कारण सोमबार पूर्व पश्चिम् राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षापछि पूर्व–पश्चिम राजमार्गको रौतहटस्थित चन्द्रपुर २ को लच्का खोलामा आएको बाढीका कारण सोमबार दिउँसोबाट सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा ४ सयभन्दा बढी साना,ठुला सवारीसाधन अलपत्र परेका छन् । राजमार्गमा गुड्ने ठुला साधनलाई पालैपालो पास गराएपनि साना सवारी साधनहरु जानसक्ने अवस्था नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक शैलेश न्यौपानेले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय, तथा जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले बाढीको अवस्था हेरेर ठुला गाडीलाई पालैपालो पास गराउने काम भैरहेको न्यौपानेले जानकारी दिए । लच्कामा बाढीका कारण दर्जनौ मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् ।

पानीले निकाश नपाउँदा जिल्लाका दक्षिणी र उत्तरी भूभागका केही गाउँ डुबानमा परिसकेका छन् । गढिमाइ नगरपालिका, चन्द्रपुर नगरपालिका, गौर, इश्नाथ लगायत धेरै नगरपालिकाका बस्तीमा पानी पसेको स्थानीय बासिन्दाले जानकारी दिएका छ्न् ।

जिल्लाका केही नदीहरुमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिएपछि स्थानीयवासीमा त्रास बढेको छ । गतवर्ष असार र साउनमा भएको लगातार बर्षापछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो यस बर्षपनि बाढीका कारण समस्या आउन सक्ने भन्दै जिल्लाबासी त्रसित बनेका हुन् ।