पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी र हतियारसहित ५ जना वन्यजन्तु सिकारी नियन्त्रणमा ​ – Madhesh Update

पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी र हतियारसहित ५ जना वन्यजन्तु सिकारी नियन्त्रणमा ​

   December 20, 2022  

पर्सा राष्ट्रिय निकुञ्ज गस्ती टोलीले निकुञ्जको कोर क्षेत्रबाट वन्यजन्तु चोरी सिकारी गरिरहेको अवस्थामा ५ जना सिकारीसहित बन्दोबस्तीका सामान नियन्त्रण लिएको छ ।

निकुञ्जको पर्सा क्षेत्रको गरुणा लाइन नजिकैबाट ५ जना वन्यजन्तु चोरी सिकारी, २ लाख ९० हजार ६७० नगद रकम ल्याण्डक्रुजर र बरेलो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिंङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको राउन्ड १ वटा, हतियार राख्ने झोला २ वटा, हतियारको अन्य डकुमेन्ट, नाइट भिजन क्यामरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कर्पाटमेन्ट, टर्च लाईट, मावाईल (आईफोन) ३ थान, मदिरा र अन्य कागजपत्रहरु नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।

वन्यजन्तु चोरी शिकारीको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी, बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाँउका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी १ का ३७ वर्षीय कापसदास थारु,बारा सखुवा प्रसौनीका ४४ वर्षीय नवराज बस्नेत, र खिटावल गाविस ८ टावलका ५२ वर्षीय मालदोङ तमाङ पक्राउ परेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

निकुञ्जका रेन्जर विष्णु पौडेलको नेतृत्वमा सेना सहितको टोलीले सोमबार राती प्राप्त सूचनाका आधारमा करिब ४ घन्टाको मेहनतपछि बस्दोबस्तीको सामानसहित चोरी सिकारीलाई नियन्त्रणमा लिन सफल भएको हो । चोरी शिकारीमा ल्याडक्रुजर, बरेलो गाडी, नाईट भिजन क्यामरादेखि मदिरा, आईफोन सम्म बरामत हुदाँ यो घटनामा सामान्य व्यक्तिको नभइ ठुलो माफियाको संग्लनता हुनसक्ने निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जनाएका छन् ।