काठमाडौं–तराई मधेस द्रुतमार्गका लागि फेरि रुख कटान सुुरु – Madhesh Update

काठमाडौं–तराई मधेस द्रुतमार्गका लागि फेरि रुख कटान सुुरु

   December 19, 2022  

काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि नेपाली सेनाले फेरि रुख काट्न सुरु गरेको छ । द्रुतमार्ग निर्माणको क्रममा नयाँ संरचना बनाउन थप जग्गा आवश्यक परेको भन्दै ३ वटा सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट १ हजार २५ वटा रुख कटानका लागि सेनाले डिभिजन वन कार्यालय बाराबाट सहमति लिएर कटानको काम सुरु गरेको हो ।

सेनाले गत सातादेखि कछडिया, नागमणि, बाघभैरव सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा रुख कटानको काम सुरु गरेको हो । दु्रतमार्गको जिरो पोईन्ट (निजगढ) मा सेनाको ब्यारेक क्षेत्रमा रहेको खाली जग्गालाई सदुपयोग गर्दा थप रुख काट्नु नपर्ने भन्दै यसअघि वन कार्यालयले सेनालाई आसपासका खाली जग्गामै आवश्यक संरचना बनाउन आग्रह गरेको थियो । तर सेनाले भने आवश्यक संरचना तोकिएको स्थानमै निर्माण गर्नुपर्ने अडान राखेपछि थप रुख काट्नु परेको हो ।

डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले अधिकांश सरकारी निकायहरुले वन क्षेत्र भित्रकै खाली जग्गाको सदुपयोग भन्दा पनि रुख कटानमै बढी ध्यान केन्द्रित गर्ने गरेको गुनासो गरे । ‘हामीलाई रुख काट्न स्वीकृत दिने ईच्छा छैन, तर राष्ट्रिय गौरवको आयोजना हो । काम रोक्न पनि भएन, कटान अनुमति रोक्दा चौतर्फी दबाब र आलोचना सुन्नुपर्ने भएकाले बाध्य भएर अनुमति दिएका हौं,’ उनले भने ।

द्रुतमार्ग निर्माणका क्रममा सेना आफैले ०७४ सालदेखि हालसम्म बारा, मकवानपुर र ललितपुरमा गरी २७ हजार रुख कटान गरिसकेको छ । आयोजनाको निजगढ कार्यदलले ‘द्रुतमार्ग सडक निर्माण प्रस्तावित स्वरुप’ (डीपीआर) र विस्तृत वातावरणीय प्रभाव मूल्यांकनमा समेत समावेश नभएका संरचनाहरु थप गर्न कटान सुरु गरेको वन कार्यालयले जनाएको छ ।