हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा मठियानी मठका महन्त पक्राउ – Madhesh Update

हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा मठियानी मठका महन्त पक्राउ

   December 19, 2022  

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गेरर बैंकबाट ७० लाख रुपैयाँ नगद झिकेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्त जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्त वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आइतबार बिहान पक्राउ गरिएको हो।

महन्त वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको, ७० लाख रुपैयाँ मौज्दात भएको खाता सरकारले रोक्का राखेको थियो। सरकारले खाता रोक्का राखेको अवस्थामा त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट सो रकम झिकेको आरोपमा महन्तलाई पक्राउ गरिएको हो।

सरकारी हस्ताक्षर कीर्ते गरेको आरोपमा पक्राउ परेका महन्तलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको महोत्तरीका प्रहरी उपरीक्षक पङ्गेनीले बताए।

मन्दिरको जमिन बिक्री गरेको आरोपमा दास यसअघि नै गुठीको महन्तबाट निलम्बनमा परेका थिए। पछि गुठी संस्थाले उनको नाममा रहेको सम्पूर्ण जग्गाजमिन बिक्री गर्न रोक लगाएको थियो।
गुठी मातहतको सरकारी जग्गा दुरूपयोग गरेको आरोप लागेपछि सरकारले उनको बैंक खाता समेत रोक्का गरेको थियो।