पर्सा पटेर्वासुगौलीमा अनुदानका २९ शिक्षक निकालिए पछि परीक्षा नै प्रभावित – Madhesh Update

पर्सा पटेर्वासुगौलीमा अनुदानका २९ शिक्षक निकालिए पछि परीक्षा नै प्रभावित

   December 19, 2022  

पटेर्वासुगौली गाउँपालिकाले वैकल्पिक व्‍यवस्था नगरीकनै अनुदानमा कार्यरत २९ जना शिक्षकलाई निष्कासन गरेको छ ।

गाउँपालिका कार्यालयको मंसिर २३ गते बसेको बैठकबाट विभिन्न विद्यालयमा गरी अनुदानको रकमबाट फरक-फरक विषयका २९ जना शिक्षक निस्काशन गरेको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले बताए ।

यसअघिका जनप्रतिनिधि र कर्मचारीले आवश्यक प्रक्रिया नै पुरा नगरी हचुवाको भरमा शिक्षक नियुक्त गरेको भेटिएपछि हटाउने निर्णयमा पुगेको उनले बताए ।

‘शिक्षक नियुक्ति गर्दाका कागजपत्र पालिकामा छैन । शीषर्क नखुलाई विद्यालयमा अनुदान गइरहेको छ ।’ उनले भने, ‘पालिकाले किन त्यो अनुदान पठाएको हो ? त्यो पैसा लगेर शिक्षकलाई दिए की ? डेक्स बेन्च किने ? अडिट गर्ने आधार पनि चाहियो नि ?’

पालिकाको शिक्षामा सुधार ल्यानका लागि आफू लागि परिरहेको बताउँदै कुनै पनि काम गर्दा धेरथोर समस्या आउनु स्वभाविक भएको बताए । ‘शिक्षामा कसरी सुधार गर्न सकिन्छ भनेर नै हामी लागेका छौं, केही निर्णयहरु कार्यान्वयन गर्दा तत्काल समस्या आउन सक्छ, तर दीर्घकालीन रुपमा त्यसको पनि समाधान गर्दै जान्छौं ।’

पालिकाले शिक्षा ऐन पारित गरिसकेको बताउँदै उनले प्रमाणित गरेर राजपत्रमा प्रकाशित गर्न मात्रै बाँकी रहेको जानकारी दिए । तर गाउँपालिकाले पनि अनुदानका शिक्षकको कात्तिक र मंसिर महिनाको तलब भने विद्यालयलाई पठाएको छैन ।

पालिकाले दिने विद्यालय सञ्चालन अनुदानबाट सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गरिएको थियो । प्रति शिक्षक मासिक १० हजारका दरले यस्तो अनुदान पालिकाले विद्यालयलाई पठाउँदै आएको थियो ।

पालिकामा ३ माध्यमिक र २१ आधारभूत गरी कूल २४ वटा विद्यालय छन् । जसमध्ये एउटा मदरसा पनि छ । यी विद्यालयमा ८ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

पटेर्वासुगौली गाउँपालिकाका सामुदायिक विद्यालयमा मंसिर २९ गतेदेखि अर्धवार्षिक परीक्षा चलिरहेको छ । वैकल्पिक व्यवस्था नगरी २९ जना शिक्षकलाई एकै पटक हटाउँदा परीक्षा नै प्रभावित भएको छ ।