रौतहटको स्थानिय तहहरुमा पुन प्रमुख उपप्रमुखबीच विवाद सुुरु
रौतहटका पालिका प्रमुख र उपप्रमुखबीच विवादको ‘पुरानो रोग’ फेरि बल्झिएको छ । अघिल्ला जनप्रतिनिधिको कार्यकालमा जस्तै जिल्लाका केही पालिकामा प्रमुख र उपप्रमुखबीच विवाद सुरु भएको हो । निर्वाचित भएको सात महिनामै जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा मतभिन्नता देखिएको छ ।
विवाद देखिएको पालिका हो, वृन्दावन । नगरप्रमुख विनोदप्रसाद कुर्मी र उपप्रमुख संगीतादेवी रामबीच बजेट बाँडफाँटमा कुरा नमिल्दा आरोपप्रत्यारोप सुरु भएको छ । केही दिनअघि नगर प्रमुख कुर्मीले पत्रकार सम्मेलन गरेर उपप्रमुख राम पालिकाको बैठक र अन्य कार्यमा नियमित सहभागी नहुँदा विकास निर्माणलगायत प्रभावित भएको आरोप लगाए । चालु आर्थिक वर्षका लागि छुट्याएको २९ करोडमध्ये ३ करोड रुपैयाँ उपप्रमुखले मागेको उनको आरोप छ । ‘न्यायिक समिति सञ्चालन गर्नका लागि रकम, कर्मचारी, भवनको व्यवस्था गरेको छु । उपप्रमुख आफैं कार्यालय आउनुहुन्न,’ उनले भने, ‘पालिकाको विषयगत समितिको जिम्मेवारी पाएका उपप्रमुख अहिलेसम्म कुनै बैठकमा उपस्थित भएका छैनन् । जसका कारण बजेट सञ्चालनमा समस्या आएको छ ।’
पालिकाको सवारीसाधन मर्मतका लागी उपप्रमुखले ११ लाख रुपैयाँ माग गरेको पनि प्रमुख कुर्मीको आरोप छ । उपप्रमुख रामले भने आफूमाथि कुर्मीले लगाएको आरोपमा सत्यता नभएको बताइन् । ‘मैले ३ करोड मागेको भन्ने लगाइएको आरोप सरासर झूटो हो । मलाई पनि जनताले चुनेको हो । न्यायिक समिति सुरु हुन सकेको छैन भनेर जानकारी गराउँदा बेवास्ता गरियो,’ उनले भनिन्, ‘मैले नगरप्रमुखसित कुनै किसिमको लोभलालच गरेको छैन । त्यतिकै झूटो आरोप लगाउन पाइँदैन ।’ नगरप्रमुख र उपप्रमुखबीचको विवादले यस पालिकामा न्यायिक समितिको काम नै ठप्प छ । कार्यालयका कर्मचारीसमेत अन्योलमा छन् । न्यायको आशमा जाने सेवाग्राही मारमा परेका छन् । खेतको विवाद सुल्झाउन निवेदनसहित पुगेका विश्रामपुरका रामसेवक साहलाई पालिकाका कर्मचारीले प्रहरीकोमा पठाइदिए । ‘मत दिएको जनप्रतिनिधिहरू झगडा गर्न थाले,’ उनले भने, ‘अव हामी प्रहरीमा धाउनुपर्ने भयो । जनप्रतिनिधिको काम के ?’
यता कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र उपप्रमुख रितादेवीबीच पनि मनमुटाव छ । पालिकाको बैठकमा उपप्रमुखका श्रीमान् जबाहर यादव बस्न खोजेपछि सुरु भएको विवाद अहिले उत्कर्षमा पुगेको हो । यही कारण गत साउनमा सम्पन्न नगरसभाको बन्दसत्रमा उपप्रमुख रिताले हस्ताक्षर नै नगरी बाहिरिन् । ‘सबै कुरा मेरै लागू हुनुपर्छ । मैले भनेको सबै मान्नैपर्छ भन्ने उपप्रमुखको मान्यता छ,’ नगर प्रमुख अजयले भने, ‘कानुनले प्रमुख र उपप्रमुखको कार्यक्षेत्र र अधिकार छुट्याएको छ, त्यहीअनुसार कामकाज गर्नुस् भनेको छु । यसरी पालिका चलाउन सकिँदैन ।’ उपप्रमुख रिताले नगरसभामा आफूले २ करोड बजेट माग्दा प्रमुखले ४० लाख रुपैयाँ मात्र दिन खोजेपछि असहमति जनाएको बताइन् । ‘मैले पनि विकास गर्छु भनेर जनतासामु वाचा गरेको छु । ४० लाख रकमले के हुन्छ,’ उनले भनिन्, ‘अहिले नगरप्रमुख आफैंले कार्यालय सञ्चालन गरेर बसेका छन् । अव भनेको जति बजेट पाइन भने केही न केही गरौंला ।’
दुवैको झगडाले यस नगरपालिकामा पनि न्यायिक समितिको काम सुरु हुन सकेको छैन । दुवैबीचको विवादले आफूलाई काम गर्न असहज भएको प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए । ‘दुवै मिलेर काम गर्न सके हामी कर्मचारी र सेवाग्राहीलाई सहज हुन्थ्यो,’ उनले भने, ‘प्रमुख र उपप्रमुख मिलेर गए उत्तम हुन्छ । हामीलाई अरु केही भन्नु छैन ।’ प्रमुख र उपप्रमुख दुवै कांग्रेसबाट जितेका हुन् । अघिल्लो ५ वर्षे कार्यकालमा जिल्लाका १८ पालिकामध्ये अधिकाशका प्रमुख र उपप्रमुखबीच झगडा भएको थियो । गरुडा, राजदेवी, यमुनामाई, ईशनाथ, कटकरिया, फतुवाबिजयपुर, देबाही गोनाही, गुजरालगायतका नगरपालिकामा प्रमुख र उपप्रमुखको कार्याकाल विवादमै बितेको थियो ।