अध्यादेश प्रमाणीकरण गर्नु पर्ने भन्दै काठमाडौमा थारु सम्बद्ध संघसंस्थाहरुको प्रर्दशन

थारु कल्याणकारिणीसभा तथा थरुहटरथारुवान संयुक्त संघर्ष समितिले बुधबार माइतीघरमा अध्यादेश अविलम्ब प्रमाणीकरण गरियोस् भन्दै प्रदर्शन गरेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाई गर्न भन्दै प्रदर्शनकारीले ‘मानवताको अधिकार हाम्रो पनि बराबर,’ ‘जनताको लागि लडेको, जेलमै सड्नु परेको ?’, ‘न्याय देउ, न्याय देउ रेशमजीलाई बाहिर लेउ’ भन्ने नारा लेखिएका प्लेकार्ड र व्यानरसहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नं २ (२) प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले अध्यादेशको स्वागत गर्दै टीकापुरमात्र नभइ सम्पूर्ण थरुहट क्षेत्र नै उत्पीडनमा परेको बताए । उनले भने, ‘न्याय तथा स्वतन्त्रताको पक्षमा वर्षौंदेखि लडिरहेका छौं ।लोकतन्त्रको दुहाइ गर्ने पनि विरोध गरिरहेका छन् । लाल आयोगको प्रतिवदेन सार्वजनिक गरिनुपर्छ र को दोषी भनेर सत्यतथ्य थाहा भइ नै हाल्छ । हामीले देशैभर आन्दोलन सुरु गरिसकेका छौ । भोलि हामी सुदूरपश्चिम बन्द गर्दैछौं । ’
नागरिक उन्मुक्ति पार्टीकी नेता इन्दु थारुले निर्दोषलाई रिहाइ गर्न माग गरिरहेको बताउँदै रेशमलाई रिहाइ गर्नुपर्ने अध्यादेशमा विरोधमात्र नभइ समर्थन पनि उत्तिकै रहेकोमा आश व्यक्त गरिन् । उनले भनिन्–‘समर्थन गर्ने पनि छन् । विरोधी ती हुन् जो टीकापुर घटनाभन्दा पनि थारुहरुको विरोधमै थिए । जसले थारुहरुलाई कमैया र कमलरीमात्र देखे । हामी आशावादी छौं राष्ट्रपतिले अन्याय गर्नुहुन्न र पछि हट्नुहुन्न ।’