प्रहरीद्धारा सिरहामा १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट – Madhesh Update

प्रहरीद्धारा सिरहामा १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट

   December 13, 2022  

सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो।

गाँजा तयार हुन नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, ‘हामीले पाएको सूचना र यो गाँजाको बोट देखिने समय पनि भएकाले फडानी गरीरहेका छौ । सूचनाको आधारमा हामी गाँजा भएका ठाउँसम्म पुगेर फडानी गरिरहेका छौं।’

सानो छदा नदेखिने र सूचनासमेत नपाउने भएकाले अहिले गाँजा फडानी गरिरहेको प्रहरीको भनाइ रहेको छ। सिरहाको पूर्वपश्चिम राजमार्ग आसपास र विशेषगरी उत्तरी क्षेत्रका किसानहरूले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ।