जीतपुर सिमरा–२० को वडा कार्यालय ७ महिनादेखि बन्द – Madhesh Update

जीतपुर सिमरा–२० को वडा कार्यालय ७ महिनादेखि बन्द

   December 11, 2022  

जीतपुर सिमरा उपमहानगरपालिका– २० को वडा कार्यालय ७ महिनादेखि बन्द हुदाँ स्थानीयहरु मर्कामा परेका छन् । स्थानीय तहको निर्वाचनलगत्तै स्थानीय २५ वर्षीय दीपक पासवानको हत्या घटनामा वडाअध्यक्ष रसुलमियाँ अन्सारीको संग्लनता भएको भन्दै स्थानीयहरुले विरोध गरेपछि बन्द रहेको वडा कार्यालय हालसम्म खुल्न सकेको छैन ।

२०७९ जेठ ६ गते पासवानको हत्या घटनामा वडाअध्यक्षको कुनै भूमिका नभएको प्रहरीले जनाए पनि शान्तिसुरक्षाको प्रत्याभूति नभएको भन्दै वडाअध्यक्ष अन्सारीले वडा कार्यालयबाट दिइने सेवा उपमहानगरबाट प्रदान गर्दै आएका छन् ।
जितपुर सिमरा उपमहानगरका वडा नं २० का ६५ वर्षीय स्थानीय बालकृष्ण सापकोटा गाउँमा वडा कार्यालय नखुल्दा सानोतिनो काम गर्न पनि समस्या भएको बताउँछन् । ‘वडाअध्यक्ष प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा गाँउमा भोट माग्न आउन सक्ने तर हामी गाउँलेलाई सेवा दिने आउन नसक्ने रु’ सापकोटाले गुनासो गर्दै भने– ‘वडा कार्यालय नखुल्दा हामीलाई धेरै समस्या छ, साइकल चलाउन नजान्नेले एक घन्टा हिँडेर उपमहानगर कार्यालय जानुपर्छ,त्यहाँ गएर पनि वडा अध्यक्षसँग भेट हुँदैन’ ।

७ महिनादेखि वडा कार्यालय बन्द हुँदा स्थानीयहरु सामाजिक सुरक्षा भत्ता, वडा कार्यालयबाट हुने सिफारिस, बिउ बिजनका लगायत सम्पूर्ण कामका लागि करिब ७ किलोमिटर हिँडेर उपमहानगरपालिकाको कार्यालयमा जाने गर्दछन् ।