शिक्षकको माग गर्दा आन्दोलनमा उत्रिए पछि महोत्तरीमा मेयरले गरे सय विद्यार्थीलाई कारवाही
महोतरीको गौशाला नगरपालिकाका एक सय स्कुले विद्यार्थी कारवाहीमा परेका छन् । आइतबार सडक जाम गरेर सर्वसधारणलाई दुःख दिने अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरले कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय जना विद्यार्थीलाई कारवाही गरेको हो।
विद्यार्थीका अभिभावकलाई विद्यालयमै बोलाएर मेयर डा दीपेन्द्र महतोले अनुशासनको हकमा कारवाही गरिएको विद्यालयका प्रधानाध्यापक शुभकरण यादवले बताए ।
विद्यार्थीहरुले शिक्षकको माग गर्दै औरही–गौशाला सडक खण्डमा टायर बाल्दै चक्का जाम गरी प्रदर्शन गरेका थिए । असारमै नगरपालिबाट भर्ना गरिएका ४ जना करारका शिक्षकको समयावधि सकिएपछि विद्यालयमा पठनपाठन प्रभावित हुँदै आएको थियो । नगरपालिकाले अन्य ठाउँमा शिक्षक पठाएर भएपनि पठन पाठन गराउँदै आएको नगरपालिकाको कार्यालयले जनाएको छ ।
शिक्षक अभावमा पठनपाठन प्रभावकारी नभएपछि विद्यार्थी नियमित रुपमा स्कुलमै शिक्षक भर्ना गर्न मेयर महतोसँग माग गरेका थिए । मेयर महतो तीन दिनभित्र शिक्षक पठाउने विद्यार्थीहरुलाई आश्वासन दिएको थियो । तर, विद्यार्थी अरुको उस्काहटमा लागेर टायर बालेर सडक जाम गरेपछि कारवाही गरिएको मेयर महतोले बताए।
मेयर महतोले भने, ‘चुनावको आचारसंहिता लागेकाले शिक्षक भर्ना प्रक्रिया रोक्नु परेको थियो । त्यसैले ढिलो भयो । ५७ पदका लागि आह्वान गरिएको ५ सय बढी शिक्षकले परीक्षा दिएका थिए । त्यसको नतिजा सार्वजनिक गर्न समय लाग्यो । अब छिट्टै शिक्षक स्कुलमा पठाउँछौं ।’
विद्यालयको अनुशासन तोडेका कक्षा ९ र १० का विद्यार्थीलाई एक हप्ताका लागि निष्काशन गरिएको मेयर महतोले बताएका छन् ।