प्रदेश २ मा १ अर्ब ८२ करोड ५४ लाख रुपैयाँ बेरुजु – Madhesh Update

प्रदेश २ मा १ अर्ब ८२ करोड ५४ लाख रुपैयाँ बेरुजु

   July 17, 2020  

प्रदेश नम्बर २ मा गत आर्थिक वर्ष २०७६/७७ मा एब अर्ब ८२ करोड ५४ लाख बेरुजु रहेको देखिएको छ । महालेखा परिक्षणको प्रतिवेदनका अनुसार सात ओटा प्रदेश मध्ये प्रदेश दुईमै सबै भन्दा वढी बेरुजु रहेको देखिएको छ । ७ वटा प्रदेशमध्ये प्रदेश नम्बर २ मा सबैभन्दा बढी ७.०९ र सबैभन्दा कम वाग्मती प्रदेशमा २.५० प्रतिशत रकम बेरुजु देखिएको छ ।

महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश २ मा १ अर्ब ८२ करोड ५४ लाख रुपैयाँ बेरुजु देखिएको हो । प्रदेश २ को १ सय २६ वटा सरकारी कार्यालयको २५ अर्ब ७२ करोड १४ लाख रुपैयाँको महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गरेकोमध्ये १ अर्ब ८२ करोड ५४ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

प्रदेश सरकार मातहत सरकारी कार्यालय, अन्य संस्था र समितितर्फ गत वर्षसम्मको बाँकी बेरुजु रकम १६ करोड ४६ लाख र यस वर्ष १ अर्ब ८२ लाख ५४ हजार रुपैयाँ थपिएको छ । आर्थिक वर्ष २०७६÷७७ सम्म प्रदेश २ मा कुल बेरुजु रकम १ अर्ब ९९ करोड पुगेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

प्रतिवेदनअनुसार पेश्कीमा समेत १ अर्ब ८२ करोड ५४ लाख रुपैयाँ बेरुजु छ भने बेरुजुमध्ये पेश्की रकम ५५ करोड २७ लाख रुपैयाँ छ ।

सार्वजनिक खरिद ऐन अनुसार प्रतिस्पर्धाको आधारमा सामग्री खरिद गर्नुपर्नेमा फर्निचर, ल्यापटप, फोटोकँपी मेसिन, प्रिन्टर, कम्प्युटरलगायतका सामग्री प्रतिस्पर्धा बिना नै पटक पटक खरिद गरिएको महालेखा परीक्षकको कार्यालयले फेला पारेको छ ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार प्रदेश २ सरकारले ले २५ करोड ७९ लाख ६ हजार मूल्यबराबरको यस्ता सामग्री बिनाप्रतिस्पर्धा खरिद गरेको देखिएको छ ।