मधेश केन्द्रित दलहरुलाई ब्याक गर्दै मधेश प्रदेशमा एमाले सबै भन्दा ठुलो दल – Madhesh Update

मधेश केन्द्रित दलहरुलाई ब्याक गर्दै मधेश प्रदेशमा एमाले सबै भन्दा ठुलो दल

   December 3, 2022  

रणनितीक रुपमा मधेश केन्द्रित दलहरुलाई प्रयोग गर्दै एमालेले मधेश प्रदेशमा सबै भन्दा ठुलो दल बनेको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमाले मधेस प्रदेशमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ २ सिट मात्रै जितेको थियो। वाम गठबन्धन गरेर नेकपा माओवादी केन्द्र समेतको साथ पाउँदा पनि मधेस प्रदेशमा एमालेको उपस्थिति निकै कमजोर देखियो। तर, ५ वर्षको अवधिमा भने एमालेले मधेस प्रदेशमा ‘सानदार कमब्याक’ गरेको छ।

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको नतिजा अन्तिम चरणमा पुग्दै गर्दा मधेसमा एमालेको उपस्थिति सबैभन्दा ठूलो पार्टीको रुपमा भएको छ। एमालेले मधेस प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा सबैभन्दा धेरै सिट ल्याएको छ। प्रतिनिधि सभातर्फ मधेस प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र छन्। जसमध्ये एमालेले ९ क्षेत्रमा जित निकालेको छ। यस्तै, प्रदेश सभातर्फ ६४ क्षेत्रमध्ये १५ क्षेत्रमा जित निकालेको छ।

यो निर्वाचनमा एमालेले मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेको थियो। सत्ता गठबन्धनमै रहेको जसपाले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनको २ दिन अगाडि मात्रै एमालेसँग तालमेलको निर्णय गरेको थियो।

मधेसका राजनीतिक विश्लेषकहरू जसपाकै साथ र समर्थनले एमाले मधेसमा सबैभन्दा ठूलो पार्टी बन्न पुगेको विश्लेषण गर्न थालेका छन्। यो निर्वाचनबाट जसपा आफू कमजोर भएपनि एमालेका लागि सबैभन्दा बलियो सहयोगी बन्न पुगेको विश्लेषण हुन थालेको छ।

एमाले मधेस प्रदेशका सहइञ्चार्ज सुमन प्याकुरेल भने आफ्नो नीति र कामका कारण आफ्नो पार्टी मधेसमा बलियो बनेको तर्क गर्छन्। जसपासँगको तालमेल सकारात्मक भएपनि पार्टी बलियो बन्नुमा नीति र काम नै प्रमुख कारक भएको उनको दाबी छ।

‘यो रातारात भएको होइन,’ प्याकुरेलले भने, ‘अघिल्लो निर्वाचनमा कमजोर देखिएपछि हामीले मधेसका सन्दर्भमा एउटा नीति बनाएर काम गर्न सुरु गर्यौं र अन्तत यसको परिणाम अहिले देखिएको हो।’

नेपालको राजनीतिक इतिहासमा कम्युनिस्ट पार्टीहरूले मधेसमा कहिल्यै हासिल गर्न नसकेको जित यसपटक एमालेले हासिल गरेको प्याकुरेलको दाबी छ।

अहिलेको परिणाम आफूहरूको सफलता भएको उनको भनाइ छ। ‘हुन त नेपालमा कम्युनिस्टहरूको जन्म नै मधेसमा भएको हो’, प्याकुरेलले भने, ‘तर, हामी निर्वाचनमा जहिले पनि कमजोर हुने गरेका थियौँ।’

उनले २०१५ सालमा पनि कम्युनिस्टले जम्मा दुई सिट जितेको र त्यो मधेसमै जितेको सन्दर्भ सुनाए। त्यतिबेला कम्युनिस्ट पार्टीले रौतहटबाट दुई सिट जितेको थिए।

अहिलेको एमाले नेतृत्वपंक्तिले विगतमा मधेसमै बसेर आफ्नो राजनीति प्रारम्भ गरेकाले मधेसमा एमाले बारेमा रहेको ठूलो भ्रम आफूहरूले चिरेको प्याकुरलको दाबी छ।

२०७२ सालमा भएको तेस्रो मधेस आन्दोलनमा एमाले अध्यक्ष केपी ओली मुख्य निशानामा थिए। र, ओलीविरुद्ध मधेसमा ठूलाठूला विरोध प्रर्दशनहरू हुने गर्थे। त्यसलगत्तै २०७४ मा भएको निर्वाचनमा एमाले अध्यक्ष ओलीलाई मधेसमा प्रचारप्रसारमा पनि कठिनाइ भएको थियो।

मधेस प्रदेशमा ओलीको सम्बोधनका लागि तीन पटक कार्यक्रम आयोजना गरिएको थियो। तर, सफल हुन सकेको थिएन। किनकि एमालेले आयोजना गरेको मेची-महाकाली यात्राको क्रममा सप्तरीको मलेठमा भीडन्त नै भएको थियो। र, त्यहाँ पाँच जनाको ज्यान गएको थियो। त्यसपछि एमालेले उक्त अभियान नै स्थगित गर्नुपरेको थियो।

त्यसलगत्तै २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनले देशैभर उल्लेखनीय मत ल्याएपनि मधेसमा त्यसको प्रभाव परेन।

यस पटकको निर्वाचनमा एमालेले सबैलाई उछिन्दै मधेसमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतिर पहिलो पार्टी बन्न सफल भएको देखिन्छ। मधेस मामिलाका जानकार प्राध्यापक विजय मिश्र भने एमाले मधेसमा बलियो हुनुको कारण मधेस केन्द्रित दलहरू नै रहेको जिकिर गर्छन्। मिश्र भन्छन्, ‘जसको विरुद्धमा मधेसमा मधेसी नेताहरूले ६ महिना लामो बन्द हड्ताल गरे। त्यसकै नेतृत्वमा रहेको सरकारमा जाने काम पालैपालो भयो।’

यसले मधेसका नागरिकमा एमालेप्रति रहेको तुष हटेको देखिएको मिश्रको ठम्याइ छ।

मिश्रले एमाले मधेसमा ठूलो हुनुमा उसले व्यापक रुपमा गरेका पार्टी प्रवेशलाई पनि जस दिनुपर्ने बताए। ‘मधेस केन्द्रित दलहरू र नेताहरूको मधेसमा बढ्दो अविश्वासलाई एमालेले ठीक ढंगले ुक्यासु गरेको देखिन्छ’, उनी भन्छन्, ‘यता मधेसी नेताहरू पालैपालो सत्तामा जान तम्तयार भए। यसले एमालेका लागि सहज पस्थिति बन्यो।’

यद्यपि, एमाले सहइन्चार्ज प्याकुरेल अघिल्लो निर्वाचनलगत्तै आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा बनेको सरकारले मधेसमा गरेको विकासको कामले पनि प्रभाव परेको दाबी गर्छन्। ‘हाम्रो अध्यक्षज्यू नेतृत्वको सरकारले मधेसको विकासको सवालमा लिएको नीतिको प्रभाव अहिले देखिएकै हो’, उनी भन्छन्, ‘यता मधेसमा रहेको प्रदेश सरकार भने लगातार असफल जस्तो देखियो। यसले पनि एमाले नै ठीक रहेको पुष्टि भएको हो।’

कतिपय जानकारहरू भने मधेसमा मधेस केन्द्रित दलहरूमा बेमेल रहेको र जनतामा उनीहरूप्रति अविश्वास बढेको बताउँछन्। त्यसले फाइदा एमालेले पाएको उनीहरूको विश्लेषण पाइन्छ। तर, एमालेको यो प्रभावको दिगोपनमा भने उनीहरू यकिनसाथ आकलन गर्न सक्दैनन्।

जे होस्, एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा मधेस प्रदेशमा ल्याएको सिट संख्याले अगामी पाँच वर्ष दबदबा राख्ने देखिन्छ। एमाले नेता प्याकुरेल एमालेले मधेस प्रदेशमा थप नयाँ रणनीतिहरू बनाएर चाँडै नै अगाडि बढने र अगामी दिनमा थप मजबुत हुने दाबी गर्छन्।

मधेश प्रदेशमा कुन दलले कति प्रत्यक्षमा जितेका छन-