मधेश प्रदेश सांसदमा प्रत्यक्ष तर्फ जम्मा ४ महिला – Madhesh Update

मधेश प्रदेश सांसदमा प्रत्यक्ष तर्फ जम्मा ४ महिला

   December 3, 2022  

मधेस प्रदेशको ६४ प्रत्यक्ष सिटमध्ये चारवटा मात्रै महिलाले जितेका छन् । प्रमुख दलबाट संघ र प्रदेशमा महिलाको उम्मेदवारी नै न्यून परेकाले जित्नेको संख्या कम भएको हो । अहिले जित हासिल गरेका पनि यसअघि प्रदेश सांसद थिए ।

प्रदेशसभामा महोत्तरीबाट तीन र सर्लाहीबाट एक जना महिला निर्वाचित भएका छन् । सर्लाही–१ को २ बाट नेकपा एकीकृत समाजवादीकी बेची लुङ्गेली १३ हजार ३ सय १ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार शान्तिकुमारी लामा थिइन् । लुङ्गेलीले यसअघि पनि सर्लाहीको सोही क्षेत्रबाट प्रदेशसभामा जितेकी थिइन् । नेकपा विभाजन भएपछि प्रदेशसभामा नेकपा एसकी प्रमुख सतेचक बनेकी उनी प्रदेशसभा बैठकमा बढी उपस्थित हुने सांसद पनि थिइन् । नेकपा एसले यस पटक प्रदेशसभामा ४ सिट जितेको छ । पार्टीका संसदीय दलका नेता एवं प्रदेशका मन्त्री शत्रुघन महतो धनुषा–४ को २ बाट चुनाव हारेपछि लुङ्गेलीले प्रदेशसभामा दलको प्रमुख जिम्मेवारी पाउने आकलन छ ।

यस्तै, महोत्तरी–१ को १ बाट एमालेकी शारदादेवी थापा निर्वाचित भएकी छन् । थापा यसअघि पनि प्रदेशसभाकी निर्वाचित सांसद थिइन् । प्रदेश मामिलाका विभिन्न समितिमा काम गरेकी उनले प्रदेशसभामा जनजीविकाका सबालमा आवाज उठाउँदै आएकी थिइन् । एमाले मधेस प्रदेशमा ठूलो दल बनेपछि थापालाई प्रदेशसभामा उपल्लो जिम्मेवारी दिइने एमालेभित्र चर्चा छ । थापाकै क्षेत्रबाट चुनाव लडेकी राप्रपा नेपालकी रंगिता कर्णले भने २ सय ७९ मत मात्र ल्याइन् ।

महोत्तरी–२ (२) बाट स्वतन्त्र उम्मेदवार बनेकी सुरिताकुमारी साह ८ हजार ५ सय ६८ मत ल्याएर विजयी भएकी छन् । उनले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश्वर यादवलाई पराजित गरिन् । यसअघि उनी त्यही क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट सांसद थिइन् । गठबन्धनका कारण टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेकी थिइन् । साह सूचना तथा सञ्चार राज्यमन्त्रीसमेत बनेकी थिइन् । साहकै क्षेत्रबाट उम्मेदवारी दिएकी राप्रपा नेपालकी उम्मेदवार संगीतादेवी पाण्डेयले भने न्यून मत ल्याइन् ।

महोत्तरी–३ को २ बाट लोसपाकी रानी शर्मा तिवारी प्रदेशसभामा दोस्रो पटक निर्वाचित भएकी छन् । उनले स्वतन्त्र उम्मेदवार उज्जलकुमार झालाई हराइन् । महिलालाई राजनीतिमा अवसर दिनुपर्ने वकालत गर्ने तिवारी महिलाको सवाल र मुद्दामा पार्टीभित्र पनि संघर्ष गर्ने नेतृ हुन् । प्रदेशमा उम्मेदवारी दिएका अन्य महिला उम्मेदवारले भने सम्मानजनक मतसमेत ल्याउन सकेनन् ।