सिरहाको रामनगरमा रहेको विद्यालयमा विद्यार्थी नभएपछि विद्यालय बाख्राको खोरमा परिणत – Madhesh Update

सिरहाको रामनगरमा रहेको विद्यालयमा विद्यार्थी नभएपछि विद्यालय बाख्राको खोरमा परिणत

   September 2, 2022  

सिरहा नगरपालिका ९ रामनगर गुलरियास्थितको आधारभूत विद्यालयमा वर्षौंदेखि पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा बाध्ने गोठमा परिणत भएको पाइएको छ । आधारभूत विद्यालयका प्रधानाध्यापक लगायतका शिक्षकहरूको लापरबाहीका कारण पठनपाठन नहुँदा विद्यालय अहिले बाख्रा र गाई बस्तु बाँध्ने गोठमा परिणत भएको हो ।

आधारभूत विद्यालयका शिक्षकहरूले वर्षैंदेखि कामै नगरी तलब बुझ्ने गरेका छन् । एक जना विद्यार्थीसमेत भर्ना नभएका यस विद्यालयका पाँचजना शिक्षकले करिब ३ वर्षदेखि नियमित तलब भत्ता खाँदै आइरहेका छन् ।

पाँच कक्षासम्म पढाइ हुने यस आधारभूत विद्यालयमा करिब तीन वर्षदेखि एकजना विद्यार्थीसमेत भर्ना नभए पनि शिकक्षहरूले भने शिक्षा शाखाको मिलेमतोमा घरमै बसेर तलब भत्ता बुझिरहेको स्थानीयको आरोप छ ।

विद्यालय पछिल्लो समय खसी–बाख्रा राख्ने खोरमा परिणत भएको छ । वरिपरि कम्पाउन्ड बनाएर घेरिएको विद्यालयभित्र स्थानीयका बाख्रा बाँध्ने गरिएको छ भने विद्यालय परिसर बाख्रा चराउने ठाउँ बनेको छ । विद्यार्थी पढ्ने विद्यालय बाख्रा पाल्ने गोठमा परिणत भएको स्थानीय दिपीन चमारले बताए । उनका अनुसार विद्यालयमा पढाई नै नभएपछि स्थानीयहरूले बाख्रा, भैंसी, गोरुहरू विद्यालय परिसरमै बाँधेर राख्ने गरिएको छ ।

विद्यालयमा तीन वर्षदेखि बाख्रा राख्ने गरिएको रामजतन यादव बताउँछन् । विद्यालयमा लामो समयदेखि बाख्रा चराउने र राख्ने ठाउँ बनाइँदा विद्यालयको शोभा पनि गुमेको यादवको गुनासो छ ।

विद्यालयका प्रधानाध्यापक श्यामकुमार यालवले अभिभावकहरूले नै विद्यार्थी पठाएपछि विद्यालय खाली भएको बताए । ‘गाउँको बीचमा विद्यालय भए पनि कसैले विद्यार्थी पठाउँदैनन्, दुई वर्ष कोरोना भाइरसले र यो वर्ष चुनावका कारण विद्यार्थी भर्ना हुन सकेनन्,’ उनले भने ।

उनले पहिला राम्रै विद्यार्थी रहे पनि कोरोनापछि विद्यार्थी आउनै छाडेको बताए । उनले थपे, ‘अब फेरि चुनाव आउँदैछ, विद्यार्थी भर्ना गर्न सकिँदैन, अब आउने शैक्षिकसत्रबाट मात्र पठनपाठन सुचारु हुन्छ ।’ प्रअ यादवले विद्यार्थी माग्न आफू घरघरै गएको दाबी गरे पनि कसैले विद्यार्थी नदिएको बताए ।

‘करिब १० वर्ष अघि यो स्कुलमा धेरै नै राम्रो पढाइ हुन्थ्यो, सय भन्दा बढी विद्यार्थीहरू अध्ययरत थिए । तर, पछिल्लो समय दिनानुदिन स्कुलको अवस्था खस्किँदै गयौँ,’ स्थानीय राम एकवाल यादवले भने, ‘हामीले विद्यालयलाई बाख्राको खोर बनाउन हुँदैन भनेर विद्यालय प्रशासनलाई पटक पटक आग्रह गरिसक्यौं । तर, हाम्रा कुराको सुनुवाइ नै हुँदैन ।’ त्यहाँ कार्यरत शिक्षकसमेत कहिलेकाहीँ विद्यालय आएर हाजिरी गरेर फर्किहाल्ने गरेका छन् ।