जनकपुर उपमहानगरपालिकाले कुलो मर्मत गराए पछि साढे ३ हजार बिघामा सिँचाइ

धनुषाका केही गाउँमा वर्षौं पुरानो कुलो जीर्णोद्धार गरी सिँचाइको समस्या समाधान गरिएको छ । वर्षौं पुरानो कुलो जीर्णोद्धार गरेपछि अहिले किसानले सिँचाइको समस्या भोग्नुपरेको छैन। जनकपुरधाम उपमहानगरपालिकाको सक्रियतामा ३० वर्षपछि बिग्घी नदीमा बाँध बाँधेर पारम्पारिक कुलोको जीर्णाद्धार गरिएपछि अहिले केही गाउँमा सिँचाइको समस्या हटेको छ।
पर्याप्त वर्षा नहुँदा सबैले खेतमा रोपाइँ गर्नसमेत नसकेका बेला कुलो जीर्णोद्धार पछि खेतमा पुगेको सिँचाइले जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था, लक्ष्मीनिया गाउँपालिका–२ का दोहर, सिनुरजोडा र महोत्तरीको लोहारपट्टी नगरपालिकाको तपनपुर, महदैया र बसबिटीलगायत गाउँको खेतमा लगाइएको धान लहलहाउँदो भएको छ।
जनकपुर २१ कुर्थाका किसान चित्रनारायण साहले भने, ‘दोहरदेखि कुर्थासम्म र दोहरभन्दा तलदेखि महोत्तरीको तपनपुर– महदैयासम्म कुलो खनिएको छ । पारम्परिक कुलोको जीर्णोद्धार गरेर खनिएको कुलोबाट यहाँ खेत खेतमा पानी पुगेको छ।’ आकाशे पानीको भरमा खेती गर्ने यहाँका किसानलाई यस वर्ष समयमा मल खाध नपाउनुको साथै लामो समय सम्म पानी नपर्दा खडेरीको समस्या बल्झिने भएपछि उपमहानगर र किसानको सक्रियामा सिँचाइ सम्भव भएको स्थानीयले बताए। कुलो जीर्णाद्धार पछि अहिले ८ किलोमिटर लामो कुलोबाट दोहरको १ सय बिघा, सिनुरजोडाको ५ सय, तपनपुरको ५ सय, महदैयाको ५ सय, कुर्थाको १ हजार ३ सय र बिसपिटीको ५ सय बिघ गरी कुल ३ हजार ६ सय बिघामा सिँचाइ सुविधा उपलब्ध भएको छ ।
जनकपुरधाम–२१ कुर्थाका वडाध्यक्ष राजनारायण साहले आफू सानो हुँदा गाउँमा तीन बाली फलेको बाबु बाजेले सुनाउने गरेको बताउँदै उनले भने, ‘३० वर्षयता बाँध बाँधिएको थिएन । चुनाव ताका हामीले बाँध र कुलोलाई चुनावी नारा नै बनायौँ । मतदाताहरू पत्याउनुभयो अनि मेयरसाबले विश्वास गरेपछि यो सम्भव भएको हो।’ वडा अध्यक्ष साहका अनुसार बाँध निर्माण र कुलो जीर्णोद्धारमा हालसम्म १८ लाख रुपैयाँ खर्च भएको छ । मुख्य खर्च डोजरबाट माटो खन्ने र पुर्ने काममा भएको हो । स्थानीयले पनि श्रमदान गरेका छन् । बाँध र कुलोको सुरक्षा र मर्मतका लागि ५ जनालाई खटाइएको छ।
वडा अध्यक्ष साहले काम सम्पन्न भएपनि जनकपुरधाम उपमहानगरपालिकाले बाँध र कुलो निर्माणको भुक्तानी गर्न बाँकी रहेको जनाए । मेयर मनोजकुमार साहले प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको हुँदा भुक्तानीमा समय लागेको बताए । उनले पालिकाको खाता खुल्नासाथ भुक्तानी हुने बताए।
बिग्ही नदीसँगै हर्दिनाथ सिँचाइ आयोजना अन्तर्गतको कुलो पनि जीर्णोद्धार गरिएको छ । विगतमा धनुषा र महोत्तरीको सीमामा रहेको बिग्घी, मध्य धनुषाबाट बग्ने जलाद, औरही, जमुनी, बेलौती, बछराजालगायत नदीमा बाँध बाँधेर जग्गा सिँचाइ गरिँदै आएको थियो । बाँध र कुलोको निर्माण सामूहिक श्रमदानबाट गर्ने परम्परा थियो । तर, स्थानीय तहबाट विकासे बजेट आउन थालेपछि खेती गर्ने पारम्परिक श्रमदानबाट कुलो खल्ने र जीर्णोद्धार गर्ने तरिकामा ह्रास आएको छ ।कमला सिँचाइ आयोजनाका पूर्व डिभिजनल इन्जिनियर रत्नेश्वरलाल कर्णका अनुसार सुक्खामा पारम्परिक पद्धतिबाट मधेसका अधिकांश खेतीयोग्य जग्गामा सिँचाइ गर्न सकिन्छ । अधिकांश गाउँमा पारम्परिक कुलोको अवशेष पनि छन् ।
कर्णले सिँचाइको स्थायी संरचना निर्माण गर्दा पनि पुराना कुलोलाई नहरको रूपमा प्रयोग गर्न सके अझ राम्रो हुने सुझाव दिए । उनले भने, ‘मैले दुई वर्षअघि मधेस सरकारलाई सिँचाइको संरचना र सम्भावनाबारे एउटा रिपोर्ट नै बुझाएको थिए । तर, यो रिपोर्ट कहाँ छ रु के भयो रु मलाई थाहा भएन।’ इकोसिस्टमका दृष्टिले जमिनमुनिको भन्दा नदी र खोलाको पानीबाट हुने सिँचाइलाई प्राथमिकता दिनुपर्ने पूर्व डिभिजनल इन्जिनियर कर्णले सुझाव दिएका छन् ।