प्रदीप गिरीको पुर्खयौली गाउ सिरहाको बस्तीपुर शोक-मग्न – Madhesh Update

प्रदीप गिरीको पुर्खयौली गाउ सिरहाको बस्तीपुर शोक-मग्न

   August 21, 2022  

आब ककरा बाबु कहबै, के कर साहारामे रहबैु (अब कसलाई बुबा भन्नु ? कसको सहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँले पनि आँसु थाम्न सकेनन्।  समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबर सुनेलगत्तै विक्षिप्त जितनीदेवीको आँसु रोकिएको छैन।

‘आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु’, जितनीदेवीले भनिन्, ‘अब कसलाई बुवा भनेर बोलाउने ? समस्या पर्दा कसलाई सुनाउने ? अब कोही रहेन, बेसहारा जस्तै भएकी छु।’

भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उनले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर गएको सुनाइन्।

‘आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो’, उनले रुँदै भनिन्, ‘अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु।’

उनले समस्या लिएर जाँदा आफूलाई गिरिले कहिले निराश नबनाएको बताइन्।

‘कुनै बेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन’, जितनीले भनिन्, ‘उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भनेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो।’

जहिले पनि पढ्नुपर्छ, दलितहरू पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्रेरणा दिने व्यक्तिका रुपमा रहेका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा छन्।

‘आश्रममा जहिले आउँदा मेरो पढाइबारे सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँनयाँ कुरा सिकाउनुहुन्थ्यो’, लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भने, ‘उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ।’

अब उहाँ जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उनले बताएका छन्।

 

‘प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो’, बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भने, ‘उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकुल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ।’

जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधन भएपछि यतिबेला बस्ती गाउँ नै शोकमा डुबेको छ। गाउँलेहरु नेता गिरिको पुर्ख्यौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरीलाई सम्झेर आँसु बगाइरहेका छन्।

‘सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ’, बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भने, ‘उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुप्रै सुधारको अनुभूति गरेको छ। उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन्।’

यसैबीच नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गर्नुभएको बस्तीपुर माविमा पनि आज व्यक्त गरिएको छ।

‘उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ’, विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भने, ‘उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शोक मनाएका छौँ।’

समाजवादी नेता गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो।

उनी गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले असल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताए।

आफूहरुले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरीको उपचार काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि भजनकीर्तन गरेका थिए। गएराति उनको निधनको खबर सुनेपछि जन्मस्थल र जिल्लावासी शोकमग्न छन्।