जनकपुरमा प्रदेश स्तरीय अपराध अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठी आयोजना

मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं मर्यादित बनाउनका लागि प्रहरीलाई निर्देशन दिएका छन् । मंगलबार जनकपुरधाममा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान महाशाखा र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको प्रदेश स्तरीय अपराध अनुसन्धान सम्बन्धी समीक्षा गोष्ठीमा बोल्दै गृह तथा सञ्चारमन्त्री साहले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउनका लागि प्रहरी संगठनको महत्त्वपूर्ण भूमिका रहने गरेको बताएका हुन् ।
उनले अपराधको नयाँ नयाँ शैली तथा तरिकाहरूको अनुसन्धानमा नेपाल प्रहरीको पनि क्षमताको विकास गर्दै जानु पर्ने आवश्यकता रहेको औँल्याए । उनले आपराधिक घटनाहरू पत्ता लगाउनका लागि मदत मिल्ने उद्देश्यले यसै प्रदेशमा फोरेन्सिक ल्याबको स्थापनाका लागि गृहकार्य भइरहेको बताए ।
उनले मधेस प्रदेशमा साइबर क्राइम र २० वर्ष भन्दा कम उमेरका युवायुवातीहरू भाग्ने र विवाह गर्ने प्रचलन ह्वातै बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री साहले भने, ‘कानुन अनुसार युवतीको विवाहका लागि २० वर्षको उमेरको मान्यता छ, तर कम उमेरका युवायुवतीहरू भागेर विवाह गर्ने प्रचलन ह्वात्तै बढेकाले कानुनको पालना नभएको अवस्था छ ।’
उनले अघि थप्दै भने, ‘कानुन कार्यान्वयन नहुँदा युवायुवतीकै कारणले पनि अराजकता पनि बढेको छ । त्यसैले कडाइका साथ कानुनको पालना गर्न गराउनका लागि प्रहरी संगठनले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता छ ।’