नागरिकता विधेयक फिर्ताको विरोधमा मधेशका जिल्लाहरुमा राष्ट्रपतिको पुत्ला दहन

नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध मधेशका जिल्लाहरुमा प्रदर्शन गरिएको छ। राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गरिएपछि लोकतन्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी सहित नेपाली कांग्रेस पनि मधेशका जिल्लाहरुमा आक्रामक देखिएका छन । लोसपा अध्यक्ष महन्थ ठाकुरले औपचारिक रुपमै एक वक्क्तब्य निकालेर नागरिता विद्येयक फिर्ता गरेकोमा आपत्ति जनाएका छन ।
सोमबार नेपाली कांग्रैस सहित जसपा, लोसपा, जनमत पार्टीका स्थानिय नेता कार्यकर्ताहरु ठाउँठाउँमा प्रदर्शन गरेका छन्। यसैक्रममा जनकपुरधामको जनक चौकमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको हो। उनीहरु राष्ट्रपति भण्डारीविरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका हुन्।
सप्तरीमा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेका थिए भने रौतहटमा काग्रेसका नेता कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रर्दशन गरेका थिए ।
जनकपुरमा भएको प्रर्दशनको क्रममा एकजना सशस्त्र प्रहरीका एक जवानको शरीरमा आगो समेत लागेको छ। यद्यपी उनी सकुशल रहेको बताइएको छ। जसपाका नेता तथा कार्यकर्ताहरू राष्ट्रपति भण्डारीको राजीनामा समेत माग गरेका छन्।
नागरिकताबाट वञ्चित भई दुख भोगिरहेको लाखौँ युवाको भविष्य र जीवनको बेवास्ता गर्दै राष्ट्रपतिबाट यस्तो कदम उठाइनु विरोध र खेदजनक रहेको जसपा नेताहरूको भनाइ छ।
आइतबार राष्ट्रपतिले दुवै सदनबाट पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरि पुनः प्रतिनिधिसभामा फिर्ता पठाएपछि मधेशमा चौतर्फी विरोध हुन थालेको हो।
जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति भण्डारी विरुद्ध सिरहा पनि प्रर्दशन गरेका हुन्।
यता राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूले धनुषाको ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए।
सोमबार बिहान कांग्रेसको मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा नेता तथा कार्यकर्ताहरूले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका थिए। केन्द्रको निर्देशन बमोजिम राजमार्ग बन्दको कार्यक्रम गरिएको कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोले बताए।
प्रदर्शनको क्रममा नागरिकता पीडितहरूको सहभागिता रहेको थियो। उनीहरूले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए। बन्दकर्ताहरूले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो।