श्रीमानबाट जलाइएकी महोत्तरीकी प्रमीला सदाको मृत्यु, आरोपी गिरफ्तार

श्रीमानबाट जलाइएकी महोत्तरीकी ३५ वर्षीया प्रमीला सदाको उपचारको क्रममा मृत्यु भएको छ। काठमाडौं कीर्तिपुरमा उपचारको क्रममा प्रमीलाको गएराती मृत्यु भएको हो।
गत २१ साउनमा मध्यराति भंगहा नगरपालिका– ९ कञ्चनवन स्थित माइतीघरमा आमासँगै सुतेकी प्रमीलालाई श्रीमान् शंकर सदाले मट्टितेल खन्याएर आगो लगाएका थिए। धनुषाको महेन्द्रनगरस्थित एक पसलबाट ४० रुपैयाँमा किनिएको मट्टीतेलले प्रमीलाको शरीर ७० प्रतिशत जलेको थियो। प्रमीलासँगै सुतेकी आमा रेशमादेवी पनि जल्न पुगेकी थिइन्।
६५ वर्षीया रेशमाको शरीरको १० प्रतिशत जलेको थियो। दुवै आमाछोरीको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। उपचारको क्रममा साउन २९ गते राति अस्पतालमा मृत्यु भएको उनको भतिजो ललित सदाले जानकारी दिए।
यता श्रीमती र सासूलाई ज्युँदै जलाएर फरार रहेका श्रीमानलाई महोत्तरी प्रहरीले गिरफ्तार गरेको छ।
गिरफ्तार हुनेमा महोत्तरीको औरही नगरपालिका ८ भोइल टिमकिया घर भई हाल भंगहा नगरपालिका ९ कंचन वन ससुवा टोलस्थित ससुराली घरमै बस्दै आएका ४० वर्षीय शंकर सदालाई गिरफ्तार गरिएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए।
शंकरले साउन २१ गते राती श्रीमती ३५ वर्षीया प्रमीला देवी र सासू ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाई फरार भएका थिए। उनलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवा स्थित नेपाल क्षेत्रबाटै पक्राउ गरिएको डीएसपी विष्टले बताए।
शंकरले राति पौने १२ बजे घरमा सुतिरहेका प्रमीला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए ।