महोत्तरीको बर्दिवासमा जातीय अगुवालाई पाँच लाख रुपैयाँ बुझाउन नसक्दा शव उठेन – Madhesh Update

महोत्तरीको बर्दिवासमा जातीय अगुवालाई पाँच लाख रुपैयाँ बुझाउन नसक्दा शव उठेन

   August 14, 2022  

महोत्तरीको बर्दिवासमा छोरा नभएका एक वृद्धको मृत्यु भएपछि दाहसंस्कारका लागि पाँच लाख रुपैयाँ जातीय अगुवाले माग गरेको घटना सार्वजनिक भएको छ।

बर्दिवास नगरपालिका वडा नं १४ छोरा नभएका एक वृद्धको मृत्युपछि जातीय भेलामा जातका माइजन (अगुवा) ले पाँच लाख रुपैयाँ नदिए लास नउठ्ने बताएपछि मृत्यु भएको एक दिन एक रात लास उठ्न सकेन ।

त्यति मात्र हैन, एक दिनपछि छोरीहरूले आफैँ मृतक बुबाको दाहसंस्कार गरे । त्यसपछि, फेरि ती जातीय अगुवाले अब काजकिरिया भोजभात गर्नको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने माग राखेर पीडितलाई थप पीडा दिन थालेको पीडितले बताए।

पीडित परिवारजनसँग त्यति ठूलो रकम खर्च गर्न नसक्ने आफैँ काजकिरिया भोजभातका गर्छौं भन्दा जातबाट निकाला गरिदिने, काजकिरियाको पुण्यतिथिमा जातका कसैलाई पनि सहभागी हुन नदिने भनेर धम्की दिएको पीडित परिवारले दुखेसो पोखेका छन् ।

बिहे, जन्म तथा अन्य खुसियालीको बेला यस्तो किसिमको सौदाबाजी हुने कुरा सामान्य लागे पनि मृत्युसंस्कारमा पनि यस्तो संवेदनहीन कुराको अगुवाइ गर्नेमा मृतक वृद्धको आफ्नै ज्वाइँ हुन् । बर्दिवासस्थित सोनार जातिका ‘मान्यजन’ (जातीय अगुवा) इनरजित साह सोनार मृतकको आफ्नै ज्वाइँ हुन् । उनले नै यस्तो माग गरेर लासको सौदाबाजी गरेका हुन् ।

लामो समयदेखि पक्षघातको बिरामी बर्दिवास १४ का ७० वर्षीय फकिरा साह सोनारको साउन २४ गते अपराह्न ४ बजे घर मै मृत्यु भएको थियो। दुई श्रीमती रहेका मृतकका छोरा छैन,आठ छोरी मात्र छन्। जेठी श्रीमती मनतोडिया तर्फका पाँच छोरी र कान्छी श्रीमति फूलोदेवी तर्फका ३ छोरी छन् ।

मृतक फकिरा जेठी श्रीमतीको मृत्यु भएपछि कान्छी फूलोदेवीसँग बस्दै आएका थिए। जेठीपट्टिका सबै छोरीको बिहे भइसकेको छ भने कान्छी फूलोदेवीपट्टिकी माहिली रूपा र कान्छी सविता नाबालिग छन्।

छोरा नभएकै कारण दाहसंस्कारका लागि विवाद सुरु भयो। दागबत्ती पुरुषको हातबाटै दिइनुपर्ने पराम्पराअनुसार जातीय सभाको बैठक बस्यो । बर्दिबासस्थित सोनार जातिका ‘माइजन’ (अगुवा) इनरजित साह सोनार मृतक फकिराकै जेठी श्रीमती तर्फका साइँली छोरीका श्रीमान् अर्थात् ज्वाईं हुन्।

इनरजितकै अगुवाइमा बसेको सभाले मृतककी जेठी श्रीमती (मनतोडिया) तर्फकी जेठी छोरीका छोरा अर्थात् मृतकका नाति शम्भु साहले दागबत्ती दिने र काजकिरिया उसैले गर्ने निर्णय गर्‍यो । तर, यसका रकम दिनुपर्ने शर्त राखियो । मृतककी कान्छी श्रीमतीले दागबत्तीबापत पाँच लाख रुपियाँ तिर्नुपर्ने जातिय सभाले निर्णय गर्दै “ सो रकम नदिए दाहसंस्कार पनि हुन नदिने र जातबाट पनि निकाल्ने धम्की दिए,” मृतककी कान्छी श्रीमती फूलोदेवीले रुँदै सुनाइन्, “मैले त्यत्रो पैसा मसँग छैन , कहाँबाट ल्याएर दिनु ? खोजखाज गरेर ऋण सापट गरेर दुई लाखजति दिन्छु त भने तर मान्दै मानेनन्।”

त्यो दिन मागेजति रकम दिन नसकेपछि मृतकको दाहसंस्कार हुन सकेन। दोस्रो दिन मात्र अविवाहित छोरीले दागबत्ती दिएर आफैँ किरिया बसिन् ।