महोत्तरीमा श्रीमती र सासूलाई जिउँदै जलाएर फरार भएका पक्राउ – Madhesh Update

महोत्तरीमा श्रीमती र सासूलाई जिउँदै जलाएर फरार भएका पक्राउ

   August 12, 2022  

श्रीमती र सासूलाई जिउँदै जलाएर हत्याको प्रयास गरी फरार रहेका श्रीमानलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ८ भोइल टिमकिया घर भई हाल भंगहा नगरपालिका ९ कञ्चन वन ससुवा टोल स्थित ससुराली घरमै बस्दै आएका ४० वर्षीय शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

शंकरले साउन २१ गते राती श्रीमती ३५ वर्षीय प्रमीला देवी र सासू ६५ वर्षीय रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाई फरार भएका थिए । उनलाई नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवा स्थित नेपाल क्षेत्रबाटै पक्राउ गरिएको डीएसपी विष्टले बताए ।

शंकरले राति पौने १२ बजे घरमा सुतिरहेका प्रमीला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए। श्रीमती प्रमीलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासूले पनि सघाउने गरेको आशंकामा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए ।

सोही विषयमा साउन २१ मा झगडा हुँदा शंकरले दुवैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।