प्रहरी समायोजन नभए आन्दोलन गर्ने मधेस प्रदेश सरकारको चेतावनी – Madhesh Update

प्रहरी समायोजन नभए आन्दोलन गर्ने मधेस प्रदेश सरकारको चेतावनी

   August 3, 2022  

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

गृह तथा संचार मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको आरोप लगाए । मन्त्री साहले भने, ‘हामीले प्रधानमन्त्री शेरबहादुर देउवा ,गृह मन्त्री बालकृष्ण खाणसहित गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझायौँ, तर प्रहरी समायोजनको सवालमा भने कोही पनि गम्भिर देखिएनन् ।’

प्रहरी बिना शान्ति सुरक्षा कायम गर्न सम्भव नरहेको बताउँदै उनले समायोजनका लागि संघर्ष एक मात्र विकल्प रहेको बताए । उनले साउन २२ गते मधेश प्रदेशमा रहेका विभिन्न दलका प्रदेशसभा सदस्यसहित मन्त्रीहरुको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको बताए ।

उनले सात दिने अल्टिमेटमसहित दिइने ज्ञापनपत्र पछि पनि संघीय सरकारले प्रहरी समायोजन नगरे संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गरिने बताए । उनले प्रदेशका सबै राजनितिक दलहरूको बैठकबाट नै यस्तो निर्णय गरिएको भन्दै मन्त्री साहले आफुहरुको आन्दोलनमा प्रदेशका हरेक राजनितिक दलको समर्थन र सहयोग समेत रहेको बताए ।