तराई मधेशमा बाढीले जत्रतत्र त्रास – Madhesh Update

तराई मधेशमा बाढीले जत्रतत्र त्रास

   July 12, 2020  

लगातारको वर्षाले प्रदेश २ का खोलाहरूमा जलस्तर बढेसँगै बस्तीमा कटानको जोखिम बढेको छ । खोलाले तटबन्ध कटान गरेर बाढी बस्तीमा पस्न थालेको छ । प्रदेश सरकारले बाढी, कटान र डुबानबाट हुने क्षतिको उद्धारमा हेलिकप्टरलाई तयारी हालतमा राखेको छ भने सुरक्षाकर्मीले ड्रोनबाट तटीय क्षेत्रको निगरानी थालेका छन् ।

बाढी पसेर रौतहटको बन्जाराहा गाउँ जलमग्न भएको छ । गाउँलाई चारैतिरबाट पानीले घेरेको छ । ईशनाथका नगरप्रमुख सन्तोष मेहताले लालबकैया नदीमा पानीको बहाव बढेपछि गाउँमा पसेको बताए । ‘बन्जाराहा चारैतिर पानी नै पानीले घेरिएको छ । सबैलाई सतर्क रहन भनेको छु,’ उनले भने, ‘डुबान र क्षतिबाट जोगिन वडाध्यक्षहरूसित छलफल भइरहेको छ ।’ उक्त गाउँमा झन्डै ५ सय घरधुरी छन् ।

लालबकैया नदीमा लगाइएको बाँध भत्किएर गौर नगरपालिका–२ को महादेवपट्टी जलमग्न भएको छ । गत वर्षको बाढीले बाँधमा भत्काएको ठाउँ मर्मत भएको थिएन । शनिबार त्यहींबाट भेल गाउँमा पसेको हो । उक्त क्षेत्रमा बाढीको भेल बढ्दै गए सदरमुकाम गौरलाई पनि डुबानमा पार्ने जोखिम छ । डुबानबाट क्षति हुन नदिन उद्धारका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।

महोत्तरीको बर्दिवास–११ खयरमाराको एउटा बस्ती पहिरोको जोखिममा छ भने सडकहरू जलमग्न भएका छन् । पूर्वपश्चिम राजमार्गलाई पानीले कटान गर्न थालेको छ ।

चुरे क्षेत्रको फेदमा रहेको खयरमाराको पानीटंकी टोलका १० घरधुरी पहिरोको जोखिममा परेका छन् । लगातारको वर्षाले शुक्रबार राति पहिरो जाँदा बस्ती जोखिममा परेको हो । बर्दिवास नगरप्रमुख विदुर कार्कीले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क बस्न भनिएको बताए । ‘पानी पर्न थामिएपछि पहिरो गएको क्षेत्रमा जाली भरेर रोकथामको काम गर्छौं,’ उनले भने । वर्षाले पूर्वपश्चिम राजमार्गको महोत्तरी खण्डका विभिन्न स्थानमा कटान सुरु गरेको छ । बर्दिवास–४ का केही भाग कटान गरेको छ भने बर्दिवास बजार क्षेत्रमै राजमार्गमा खाल्डा पारेको छ ।
वाग्मतीको बाँध भत्कियो

सर्लाहीको बरहथवा नगरपालिका–१ खर्सालघाटस्थित वाग्मती नदीमा भर्खरै बनाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्किँदा बाढी गाउँतिर सोझिने जोखिम बढेको छ ।

बाढीले प्रदेशको निर्वाचन क्षेत्र विकास कोषको बजेटबाट बनाइएको तटबन्धमा पनि क्षति पुर्‍याएको छ । नगरले १५ लाखको लागतमा डाइभर्सनका लागि बाँध निर्माण गरेको थियो ।

यस्तै प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको निर्वाचन क्षेत्र विकास कोषको २५ लाख रुपैयाँबाट बाँध निर्माण गरिएको थियो । यसमा नदी नियन्त्रण कार्यालय परवानीपुर बाराले पनि तारजाली कस्ने काम गरेको थियो । तारजाली भएको स्थानमा बाँध सुरक्षित छ भने नलगाएको ठाउँ बाढीले भत्काइदिएको वडाध्यक्ष रत्नबहादुर गिरीले बताए ।

‘अहिले बाँध मात्र भत्काएको छ, पानीको बहाव पश्चिमतिर नै छ । पूर्वतिर आयो भने हाम्रो बिजोग हुन्छ,’ उनले भने ।

खर्सालघाटबाट बाढी पसेमा बरहथवा नगरपालिकाको १, ३, १४ र १५ नम्बर वडासहित बसबरिया, रामनगर, धनकौल गाउँपालिकाको दर्जनौं बस्ती डुबानमा पर्ने जोखिम रहेको उनले बताए । बाँध निर्माणमा टालटुले काम गर्दा भेलले क्षति गरेको भन्दै स्थानीय आक्रोशित छन् । उनीहरूले तारजालीसहित भरपर्दो पक्की तटबन्ध निर्माण गर्न माग गरेका छन् ।

साधनस्रोत विहीन विपद् व्यवस्थापन समिति

१५ महिनाअघि बारा–पर्सामा ‘टोर्नाडो’ आँधी आउँदा २९ जनाको मृत्यु भएको थियो । घटनामा सयौं घाइते भए, गाउँ खण्डहर बन्यो । उनीहरूलाई तत्काल उद्धार गर्ने र राहत दिन कुनै साधनस्रोत प्रयोग भएन । मृतक र घाइतेलाई टिपर तथा ट्याक्टरमा जसोतसो ओसारियो ।

विपद् पीडितलाई उद्धार, राहत, पुनःस्थापनाका लागि जिल्लादेखि वडा तहसम्म विपद् व्यवस्थापन समिति छ । तर उनीहरूसित साधनस्रोत छैन । बजेट र उद्धार सामग्रीको अभावले ती समितिले प्रभावकारी काम गर्न सकेका छैनन् । स्थानीय तहसित बजेट भए पनि विपद् व्यवस्थापन गर्न उनीहरूसित योजना र तयारी छैन । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाको समितिमा उद्धार सामग्रीसँगै बजेट अभाव छ । ‘अहिलेसम्म बाढीबाट नोक्सानी नगरी सुरक्षित छौं, यसपछि के हुने हो ठेगान छैन,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘विपद् व्यवस्थापनमा आत्मनिर्भर छैनौं ।’

बल्लतल्ल संघीय सरकारबाट ५ लाख बजेट आएपछि सुरक्षाकर्मीका लागि थोरै उद्धार सामग्री खरिद गरिएको उनले बताए । ‘स्थानीय तहसित त्यो पनि छैन,’ उनले भने ।

जिल्लाको आपत्कालीन केन्द्रमा समेत सूचना आदानप्रदान गर्नेबाहेक बलियो संयन्त्र केही छैन ।

सप्तकोसीको बाढीले श्रीलंका ‘टप्पु’ जोखिममा

सप्तकोसी नदीको पश्चिम तटीय क्षेत्रमा रहेको श्रीलंका टापु बाढीको जोखिममा परेको छ । नदीको तल्लो तटीय क्षेत्रमा पर्ने सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकामा पर्ने टापुमा तीव्र रूपमा कटान भइरहेकाले जोखिम बढेको हो ।

टापुको चिलिया बस्तीका नजिकै कटान भइरहेको स्थानीय बद्री राईले बताए । ‘करिब ४० परिवारको बस्ती रहेको चिलिया उच्च जोखिममा छ,’ उनले भने, ‘कटानसँगै बाढी बढ्दै गएकाले बस्तीमा कोसीको भँगालो पस्ने खतरा छ ।’ जोखिम बढेपछि स्थानीय सुरक्षित बासस्थानको खोजीमा लागेका छन् । गत वर्ष पनि कोसी कटान र बाढीले त्यस क्षेत्रका बासिन्दा विस्थापित भएका थिए । बाँधलाई पानीको वेगबाट जोगाउने संरचना ‘स्पर नम्बर १३ आरडी’ नजिक पश्चिमपट्टि कटान भइरहेको उनले बताए ।

‘यस्तै अवस्थामा कटान भइरहने र बाढी बढ्दै गएमा ठूलो जोखिम हुन्छ,’ राईले भने, ‘झन्डै २५ मिटर कटान भइसकेको छ, ३ सय मिटर कटान भयो भने बेलका नगरपालिकको १ र २ नम्बर तपेश्वरी पूर्ण रूपमा डुबान हुने अवस्था छ ।’

दुई दिनयताको वर्षात्सँगैको कोसी बाढीको भेल पश्चिम क्षेत्र मोडिएकाले जोखिम भएको हो । बहाव अत्यधिक भएपछि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरको मुहानमा रातो झन्डा गाडिएको सुनसरीको बराहक्षेत्र नगरप्रमुख नीलम खनालले बताए । ‘अहिले बाढी खतराको बिन्दुमा पुगिसकेको छ,’ उनले भने, ‘बाढी पश्चिमतर्फ मोडिएकाले श्रीलंका टापुमा पस्न सक्ने जोखिम देखिएको छ ।’

भारत सरकारले पूर्वी तटबन्ध क्षति नपुगोस् भनेर पानीको बहावलाई पश्चिम धकेल्न ‘पाइलट च्यानल’ बनाउँदै आएको छ । गत हिउँदमा पनि त्रिकुटी आकारको तार राखेर कोसीको बहाव पश्चिम सोझिएपछि श्रीलंका टापुतर्फ जोखिम बढेको खनालले बताए । ‘अहिले कोसी ब्यारेजका लागि निर्माण सुरु गरिएको चतरामा नै नदीको बहाव बढेको छ,’ उनले भने । सुरक्षा निकायलाई सतर्क गराउनुका साथै तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको उनले बताए ।

ब्यारेजमा शनिबार ३९ ढोका खोलिएको र पानीको बहाव २ लाख ७६ हजार क्युसेक प्रतिसेकेन्ड रेकर्ड भएको प्रहरीले जनाएको छ । भारतले कोसी तटबन्ध बर्सेनि मर्मत गर्दै आएको छ । ०६५ सालमा पूर्वी तटबन्ध भत्केर बाढी बस्ती प्रवेश गर्दा ठूलो क्षति भएको थियो । त्यसपछि तटबन्धको पूर्वी क्षेत्रमा बढी ध्यान दिइने गरेको तर यसपालि पश्चिमी क्षेत्रमा पानीको बहाव बढी देखिएको बेलका नगरपालिका–३ का वडाध्यक्ष भरत दर्लामी मगरले बताए । श्रीलंका टापु बराहक्षेत्र नगरपालिकाको ६ र ९ तथा बेलका नगरपालिकाको २ र ३ वडामा पर्छ ।

झापाको कनकाई नदीमा आएको बाढीले शिवसताक्षी नगरपालिका–१० सुकुम्बासी बस्तीका चार घर विस्थापित भएका छन् । बाढीले नदीको पश्चिम किनारमा कटान तीव्र पारेको छ । रेडक्रस सोसाइटीका झापाका सभापति लोकराज ढकालका अनुसार प्रेम उप्रेती, तारा लिम्बू, हरिमाया ऋषिदेव र लालबहादुर ऋषिदेवको परिवार विस्थापित भएको हो । भारी वर्षासँगै कनकाई नदीमा आएको बाढीले करिब ८ सय मिटर जमिन कटान गरेको छ ।

कटान नरोकिएकाले सुकुम्बासी बस्तीका थप १५ घर उच्च जोखिममा रहेको ढकालले बताए । बस्तीमा ५९ घरपरिवारको बसोबास छ । विस्थापित परिवारलाई शनिबार नै रेडक्रसले २र२ थान त्रिपाल वितरण गरेको छ । उनीहरूलाई नजिकैको खाली स्थानमा टेन्ट लगाएर राखिएको छ ।