क्वारेन्टाइनबाट फर्किएको १ सातामै वृद्धले गरे आत्महत्या – Madhesh Update

क्वारेन्टाइनबाट फर्किएको १ सातामै वृद्धले गरे आत्महत्या

   July 12, 2020  

एक वृद्धले क्वारेन्टाइनबाट निस्केको एक सातापछि आत्महत्या गरेका छन् । बाराको परवानीपुर गाउँपालिका– ५, बहुअरी बस्ने ७० वर्षीय महादेव ठाकुरले धोतीको पासो लगाएर आत्महत्या गरेका हुन् । राति खाना खाएर आफ्नो घरमा सुतेका महादेव ठाकुर बिहान मृत फेला परेको उनको परिवारले जनाएको छ ।

उनी क्वारेन्टाइनमा बस्दा मानसिक रूपमा विक्षिप्त भएको र घर आएपछि आत्महत्या गरेको स्थानीयको अनुमान छ । स्थानीयका अनुसार उनले साथीभाइ र आफन्तलाई भेट्दा ‘मलाई कोरोना भइसकेको छ, प्रहरीको गाडी आएर लैजान्छ’ भन्ने गर्दथे ।

वडा अध्यक्षलाई समेत उनले आफूलाई कोरोना संक्रमण भइसकेको बताएका थिए । तर, आफूले पीसीआर रिपोर्ट नेगेटिभ आएकाले नआत्तिन भनेर सम्झाएको वडा अध्यक्ष रामेश्वरप्रसाद साह बताउँछन् ।

‘हिजो बिहान मसँग उहाँको भेट भएको थियो, मलाई कोरोना भइसकेको छ, प्रहरी आएर लैजान्छ भन्दै हुनुहुन्थ्यो,’ वडाअध्यक्ष साहले भने, ‘मैले पीसीआर रिपोर्ट नेगेटिभ आएरै घर पठाएका हुन्, तनाव लिनुपर्ने केही छैन भनेर सम्झाएर पठाएको थिएँ ।’

साहका अनुसार महादेवको मानसिक अवस्था पहिलेदेखि नै कमजोर थियो ।

‘पहिला पनि कहिले बोक्सी लागेको छ भन्ने, ल्वाङ हेराउने, जन्तर लगाउने गर्नुहुन्थ्यो,’ वडा अध्यक्ष साह भन्छन्, ‘यसपालि नै ७० वर्ष पुग्नुभएको थियो, वृद्ध भत्ताका लागि फारम भराएर सबै तयारी गरेको थिएँ । भत्ता थाप्ने बेलामा संसारै छोडेर जानुभयो ।’

उनले आफूलाई कोरोना संक्रमण भएको भनेर गाउँलेहरूलाई भने पनि त्यो कुरा परिवारका सदस्यहरूले पत्तो पाएनन् ।

उनका छोरा जितेन्द्र ठाकुरले भने, ‘क्वारेन्टाइनको बसाइबारे पनि केही भन्नुहुन्नथ्यो । गाउँलेले कस्तो व्यवहार गर्छन् भनेर पनि भन्नुहुन्नथ्यो । अचानक बिहान नराम्रो खबर सुन्नुपर्‍यो ।’

कोरोना महामारी सुरु हुनुअघि उनी भारतको बिहार राज्यअन्तर्गत पर्ने नरकटियागञ्जमा छोरीको घरमा गएका थिए । त्यहीँ रहेकै अवस्थामा लकडाउन सुरु भएपछि उनी त्यतै रोकिए । २ महिना त्यता बसेपछि रक्सौलमा छोराको ससुरालीमा आएर १५ दिनजति बसेका थिए ।

वडा अध्यक्ष साहलाई फोन गरेर घर आउने व्यवस्था मिलाइदिन आग्रह गरेपछि गाउँपालिकाले ८ असारमा एम्बुलेन्समार्फत ल्याएर गाउँकै क्वारेन्टाइनमा राखेको थियो ।

क्वारेन्टाइनमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ११औँ दिनमा १९ असारमा उनलाई घर पठाइएको थियो । महादेवको शव कलैया अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।