मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार, छोराछोरीलाई छात्रवृत्ति पनि घोषणा – Madhesh Update

मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार, छोराछोरीलाई छात्रवृत्ति पनि घोषणा

   June 30, 2022  

मधेश सरकारले मधेश आन्दोलन र जनयुद्धका शहीद परिवारलाई मासिक २१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ।

शहीद परिवारको भरणपोषणबापत गृह तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको मधेशी शहीद प्रतिष्ठानले मासिक २१ हजार रुपैयाँ उपलब्ध गराउन लागेको हो।

त्यस्तै शहीदका छोराछोरीलाई समेत निःशुल्क पठनपाठनका लागि छात्रवृत्ति दिन लागेको प्रतिष्ठानले जनाएको छ।

भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधिक २०७९ को दफा ९६० बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखेर मासिक अधिकतम २१ हजार रुपैयाँका दरले मधेशी शहीद प्रतिष्ठानले निर्णय गरेको हो।

शहीदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने मन्त्रालयले जनाएको छ।

भरणपोषण तथा छात्रवृत्तिको लागि प्रतिष्ठानले १० जेठमा सूचना प्रकाशित गरेर आवेदन दिन शहीद परिवारहरुलाई आह्वान गरेको छ। यस्तो सुविधा मधेश आन्दोलन र जनयुद्धमा शहीद भइ नेपाल सरकारबाट समेत शहीद घोषणा भएकाको परिवारले मात्र पाउने छन्।