जसपा मधेश प्रदेश उपाध्यक्षकै अगुवाईमा प्रदेशको कृषि मन्त्रालय अगाडि धर्ना

किसानहरूले पाँचबुँदे माग अघि सार्दै मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आजदेखि धर्नामा बसेका छन्। धर्ना बस्नुअघि लेखा तथा खाद्य सुरक्षा महाशाखामा उनीहरूले तालाबन्दी समेत गरेका छन्।
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यादवको अगुवाइमा धनुषा र सर्लाही जिल्लाका किसानहरू धर्नामा बसेका हुन्। आफूहरूले राखेको माग पूरा नभए कडा आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन्।
जबकी मधेश प्रदेशको मुख्यमन्त्री र कृषीमन्त्री दुवै जसपा कै छन ।
अदालतको आदेशअनुसार शीतभण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ बिजन उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवामा, सुविधा र विभिन्न योजनाहरू एकरूपता गरी किसानहरूको हक हित सुनिश्चित हुनुपर्ने, शीतभण्डारको बाँकी काम गर्न आदेश हुनुपर्ने र प्राकृतिक तथा विभिन्न कारणले विभिन्न बालीहरूको क्षतिपूर्ति हुनुपर्ने मागसहित किसानहरू धर्नामा बसेका छन्।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नंं ३ मा जनहित कृषक समूहका किसानहरूको चिस्यान केन्द्रमा करिब अढाइ करोडको लगानी गरेको तीन वर्ष हुँदा पनि भुक्तानी नभएपछि ठूलो समस्यामा परेको सो संस्थाका अध्यक्ष ललित नारायण यादवले जानकारी दिए।
यस्तै प्रकृतिको चिस्यान घरको निर्माण कार्य सप्तरी जिल्लामा हुँदा १ करोड भुक्तानी भइसकेको पनि यादवले जानकारी दिए।
त्यस्तै सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको चिस्यान घरको निर्माणमा अढाई करोड खर्च भए पनि मन्त्रालयले भुक्तानी दिन नमानेपछि किसानहरू समस्यामा परेको संस्थाका अध्यक्ष देवेन्द्र प्रसाद महतोले जानकारी दिए।
यसैबीच भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा नम्रता सिंहले फाइल तथा अदालतको आदेशको अध्ययन गरिरहेको सबै प्रक्रिया पूरा गरेर भुक्तानी दिने बताए। अहिले जनता समाजवादी पार्टी नेपालका नेता विजय कुमार यादवको नेतृत्वमा मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय छ।