मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत मात्र रोपाइँ, मलखादको चरम अभाव – Madhesh Update

मधेस प्रदेशमा अहिलेसम्म ११ प्रतिशत मात्र रोपाइँ, मलखादको चरम अभाव

   June 29, 2022  

देशभर राष्ट्रिय धान दिवस मनाइरहँदा मधेस प्रदेशमा अहिलेसम्म धान रोपाइँ हुने कुल जमिनमध्ये ११ प्रतिशतमा मात्र रोपाइँ भएको छ । सबैभन्दा बढी पर्सामा २० प्रतिशत र सबैभन्दा कम धनुषामा ४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

मधेस प्रदेशमा यसवर्ष अहिलेसम्म ४३ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत मनिष कुमार पालले जनाएका छन् । पर्सामा ५४ हजार ७३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । पर्सामा अहिलेसम्म ९ हजार ४२६ हेक्टर (२० प्रतिशत) क्षेत्रफलमा रोपाई सम्पन्न भएको उनले बताए ।

त्यस्तै सप्तरीमा कुल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । तर सप्तरीमा यसवर्ष १० हजार २ सय हेक्टर (१५ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ ।

सिरहामा कुल ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुने गरे पनि यसवर्ष हालसम्म ७ हजार ५६० हेक्टर (१४ प्रतिशत) रोपाइँ भएको उनले बताए ।

त्यस्तै महोत्तरी जिल्लामा ६७ हजार ३५२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये अहिलेसम्म ४ हजार ६५० हेक्टर (१० प्रतिशत) क्षेत्रफलमा मात्र रोपाई भएको जनाइएको छ ।

त्यसैगरी बारामा ६२ हजार ८२३ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा धान खेती हुँदै आएको छ । अहिलेसम्म बारामा ४ हजार ६०२ हेक्टर (१० प्रतिशत) क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै रौतहटको ५३ हजार ५२० हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गा रहेकोमा ३८ हजार १ सय हेक्टरमा धान खेती हुन्छ । त्यसमध्ये अहिलेसम्म रौतहटमा २ हजार ६६७ हेक्टर (७ प्रतिशत) क्षेत्रफलमा रोपाइँ भएको छ ।

सर्लाहीको ८४ हजार ६७८ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४६ हजार ७ सय हेक्टरमा धान रोपाइँ हुन्छ । त्यसमध्ये अहिलेसम्म २ हजार ३३५ हेक्टर (५ प्रतिशत) क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

यस प्रदेशमा यसवर्ष सबैभन्दा कम धनुषा जिल्लामा रोपाई भएको उनले बताए । धनुषामा ७६ हजार ५३१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जग्गामध्ये ५९ हजार हेक्टरमा धान रोपाइँ हुनुपर्नेमा अहिलेसम्म २ हजार ३६० हेक्टर अर्थात् ४ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको बाली विकास अधिकृत पालले बताए ।

मलखाद आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङको छ । तर पनि किसानले सहज रुपमा मलखाद नपाउँदा यस वर्ष पनि धान उत्पादन ह्रास आउने चिन्ताले किसान पिरोलिन थालेका छन् ।

मुलुकको कुल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुँदै आएको छ । नेपालमा हुुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन यस प्रदेशमा हुँदै आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मधेश प्रदेशका कुन जिल्लामा कति प्रतिशत रोपाई अहिले सम्म भएको छ –
पर्सा -२० प्रतिशत
बारा – १०
रौतहट – ७
सर्लाही – ५
महोत्तरी – १०
धनुुषा – ४
सिरहा – १४
सप्तरी -१५