जसपाले मधेशलाई कमजोर बनाएको लोसपा मधेश प्रदेश समितिको निष्कर्ष – Madhesh Update

जसपाले मधेशलाई कमजोर बनाएको लोसपा मधेश प्रदेश समितिको निष्कर्ष

   June 28, 2022  

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेस प्रदेश समितिले जसपासँग एकीकरण नगर्न नेतृत्वलाई सुझाव दिएको छ । सोमबार जनकपुरधाममा सम्पन्न भएको लोसपा नेपाल मधेस प्रदेश समितिको बैठकले निर्वाचनको मुखमा आएर पार्टी एकीकरण नगर्न पार्टी नेतृत्वलाई सुझाव दिएको हो ।

बैठकमा संगठन सुदृढीकरण, स्थानीय निर्वाचनको समीक्षा, पार्टीको सांगठनिक अवस्थालगायतका विषयहरुमा छलफल गरिएको लोसपा नेपाल मधेस प्रदेश समितिले जनाएको छ । बैठकमा स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारले पाएको मत र आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा अन्य पार्टीसँग चुनावी तालमेल गर्नेलगायतका विषयमाथि समेत छलफल गरिएको जनाइएको छ ।

बैठकमा लोसपा नेपालका मधेस प्रदेश समितिका अध्यक्ष जितेन्द्र सोनलले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिस्टसँग मिलेर मधेसलाई कमजोर बनाएको आरोप लगाए ।

मधेस प्रदेशसभामा लोसपा संसदीय दलका नेता समेत रहेका सोनलले मधेस आन्दोलनको मुद्दामाथि कुठाराघात गरेर पटक पटक धोका दिएकाहरुको असली चरित्र जनतालाई देखाउन र मधेसवादका लागि सक्रिय रहन आग्रहसमेत गरेका छन् ।

उनले बैठकमा भएका छलफल समेटेर केन्द्रीय कमिटीलाई प्रतिवेदन पठाउने निर्णय भएको बताए ।