नागरिकता विधेयक असारभित्रै पारित हुने – लोसपा नेता भण्डारी

लोेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले विगतदेखि अल्झँदै आएको नागरिकता विधेयक अब चाँडै संसद्बाट पारित हुने दाबी गरेका छन् । महोत्तरीको औरही नगरपालिकाको १०औँ नगरसभाको आज उद्घाटन गर्दै उहाँले सत्तारुढ गठबन्धनसँग चाँडै नागरिकता विधेयक पारित गरिने सहमति भएको बताए ।
यो विधेयक पारित भएपछि मधेसको विगतदेखि बल्झँदै रहेको समस्या समाधान हुने उनको विश्वास छ ।
“सत्तारुढ पाँचदलीय गठबन्धनसँग हाम्रो भएको सहमति पालना भए यही असारभित्रै विधेयक पारित हुनेछ”, नेता भण्डारीले भने, “सहमति पालना हुने विश्वासले यो चाँडै पारित हुन्छ भन्न सकिएको हो ।”
वैवाहिक अङ्गीकृत महिलाले यसअघि पाउँदै आएका नागरिकताको सहुलियत अहिलेको विधेयक मस्यौदामा फरक पारिँदा समस्या भएको भण्डारीको भनाइ छ । मस्यौदामा नेपालीसँग विवाह भएकी विदेशी महिलाले नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने लेखिएको सच्याउनुपर्ने आफुुहरूको माग रहेको भण्डारीले स्पष्ट पारे ।