प्रदेश र संघिय दुवैमा कृषीमन्त्री मधेशी पार्टीकै, तर मल अभावले तराईमधेशका खेतहरू बाँझै – Madhesh Update

प्रदेश र संघिय दुवैमा कृषीमन्त्री मधेशी पार्टीकै, तर मल अभावले तराईमधेशका खेतहरू बाँझै

   June 22, 2022  

रोपाइँको सिजनको मध्यमा पर्ने ‘आदरा’ अर्थात् असार १५ आउन एक हप्ता मात्र बाँकी रहँदा बारा सहित तराई मधेशका जिल्लाहरुमा भने रोपाईं सुरु भएको छैन । उसै पनि आकाशे पानीको भरमा हुने खेतीमा वर्षा नभएर माटो भित्रको आर्द्रताको अभाव हुँदा बिडमा बिउ हाल्ने काम करिब एकदेखि २ हप्ता सम्म ढिलो भएको छ ।

त्यसमाथि मल पनि नपाइने भएपछि बिउ उम्रिसकेका खेतमा पनि किसानले रोपाइँ सुरु गरेका छैनन् । यसरी मल नपाइने भएपछि अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला बारा, पर्सा, रौतहट सहितका जिल्लामा रोपाई प्रभावित भएको छ । खेतहरू बाँझै रहेका छन् ।

जवकी मधेश प्रदेश र संघिय सरकार दुवैमा कृषी मन्त्री मधेश केन्द्रित राजनिती गरिरहेको जसपाका नेताहरु छन । मधेश राजनिती शक्क्तिको रुपमा आफुलाई दावी गर्ने उपेन्द्र यादव नेतृत्वको जसपा नेता कै मधेश प्रदेशमा सरकार छन भने संघिय सरकारमा पनि जसपाकै नेता महेन्द्र यादव कृषी मन्त्री छन ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद शाहका अनुसार सिचाईंको समस्या दोहोरिने गरेको भएपनि किसानहरुले दमकल लगाउने, नदीमा बाँध लगाउने जस्ता उपाय अपनाउने गरेका छन् । मल अभावसँग जुध्ने जुक्ति अब नरहेको उनले बताए । कृषी ज्ञानकेन्द्रको रेकर्ड अनुसार यी जिल्लाहरुमा १५० देखि १६० हजार हेक्टरसम्म धान खेती हुन्छ । धान यहाँको मुख्य बाली हो । भदौ असोज मै काटिने सारो धान छिटफुट रोपिएका छन् । तर यो पटक भने यी जिल्लामा २० प्रतिशत पनि रोपाइँ भएको छैन । अरु तराईका जिल्लाहरुको पनि अवस्था उस्तै छ ।

यता कृषी सामग्री कम्पनीको वीरगंजस्थित मलको प्रवेश बिन्दु तथा मधेस प्रदेश कार्यालयका अनुसार कम्पनीले खरिद गरेको मल कहिले आइपुग्ने यकिन हुन सकेको छैन । असारको तेस्रो सातासम्म मल यहाँ आइपुग्ने आँकलन गरिएको कार्यालयका सूचना अधिकारी आलोककुमार झाले बताए । झाका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको ४० हजार टन डिएपी र ३० हजार टन युरिया गरी ७० हजार टन मल अहिले आयात हुने प्रक्रियामा रहेको छ र ‘जि–टु–जि’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) प्रक्रियामा यस पाली खरिद गरिएको डेढ लाख टन मल नेपाल ल्याउन पहल गरिरहेको कम्पनीले जनाएको छ । हिजो मात्रै कायम मुकायम प्रबन्ध सञ्चालक राजेन्द्र बहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली भारत गएको प्रदेश कार्यालयका सूचना अधिकारी झाले बताए ।

त्यस्तै साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेडले डिएपीको बितरण यहाँ सुरु गरे पनि मागभन्दा निकै कम परिमाणमा आपूर्ति हुँदा त्यसबाट अझ बितरण कसरी गर्ने भने सकस भएको छ । गत जेठ २१ मा साल्ट ट्रेडिङ्गको २० हजार टन डिएपी नेपाल भित्रिएको थियो । सो कम्पनी मार्फत आयात हुन लागेको २२ हजार टन युरिया हल्दिया बन्दरगाहबाट हिडिसकेर ५ दिन भित्र आइपुग्ने अनुमान गरिएको वीरगंजस्थित कार्यालयका प्रमुख अनोज लामिछानेले बताए ।