बारा र पर्सामा चट्याङले मानवीय क्षती – Madhesh Update

बारा र पर्सामा चट्याङले मानवीय क्षती

   July 2, 2020  

बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । बिहीबार बिहान साढे सात बजेको समयमा परेको चट्याङले खेतमा धान रोपीरहेका बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो र सोही ठाउँ बस्ने ४५ वर्षीया हलिमा खातुनको मृत्यु भएको हो ।

बाराका डीएसपी गौतम मिश्रका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएकी महतो र खातुनलाई उपचारका लागि कलैया अस्पताल ल्याउँदा ल्याउँदै बाटोमा नै मृत्यु भएको हो ।

यसैगरी सोही समयमा परेको चट्याङ लागेर खेतमा धान रोपिरहेका फेटा गाउँपालिका–१ त्रिवेणीका ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनरपति देवी महताको पनि मृत्यु भएको डीएसपी मिश्रले बताए ।

चट्याङले फेटा गाउँपालिकाका ६ र कलैया नगरपालिकाका १ गरी सात जना घाइते भएका छन् । घाइते हुनेहरुमा फेटा गाउँपालिका ५५ वर्षीया बचवादेवी हजाम, ६० वर्षीया राजपति देवी, ३५ वर्षीया कान्ति देवी, ६० वर्षीया उमा देवी, २५ वर्षीया लिलावती देवी र ३५ वर्षीया सोसिता देवी छन् । यसैगरी कलैया नगरपालिकाकी ५० वर्षीया मरियम खातुन पनि घाइते भएकी छन् ।

घाइतेहरुको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

यसैबीच पर्सामा पनि चट्याङ लागेको छ । पर्सामा वर्षासँगै परेको चट्याङले पर्सामा १ जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा बहुदरमाई नगरपालिका–३ का १३ वर्षीय रहमत हवारी रहेका छन् ।

घाइते हवारीको वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए ।

स्वास्थ्य कार्यालयमा क्षति

वर्षासँगै परेको चट्याङले वीरगञ्ज–१४ स्थित जनस्वास्थ्य कार्यालय पर्साको भवनमा समेत क्षति पुगेको छ ।

जनस्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वर चौरसियाका अनुसार चट्याङले कार्यालयको भवन तथा कार्यालयमा जडान गरिएको विद्युतीय सामानमा क्षति पुगेको छ ।

जनस्वास्थ्य अधिकृत चौरसियाका अनुसार क्षतिको मुल्यांकन भइरहेकोले अहिले नै यति क्षति भएको छ भनेर भन्न सक्ने अवस्था छैन । ‘छतको दक्षिणतर्फको भागमा प्वाल पर्नुको साथै चर्केको छ,’ उनले भने, ‘मिटर बक्स जलेको छ, तारहरु टुक्रा टुक्रा भएर झरेको छ । कम्युटर, पंखा, इन्भर्टर, फ्रिज लगायत इलेक्ट्रिक समानमा क्षति पुगेको हुनसक्छ ।’

चट्याङका कारण डी फ्रिजमा समेत क्षति पुगेको हुन सक्ने भएकाले बालबालिकालाई नियमित लगाउने दादुरा, रुबेला, बीसीजी लगायत ११ प्रकारका भ्याक्सिनको व्यवस्थापन गर्ने कार्य भइरहेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए ।

चट्याङबाट करिब २० लाख बराबरको क्षति भएको अनुमान जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले गरेको छ ।