प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले बुझाए मुख्यमन्त्रीलाई ६ बुँदे ज्ञापनपत्र – Madhesh Update

प्रादेशिक अस्पताल जनकपुरका कर्मचारीले बुझाए मुख्यमन्त्रीलाई ६ बुँदे ज्ञापनपत्र

   June 14, 2022  

तत्कालीन जनकपुर अञ्चल अस्पताललाई मधेस प्रदेश सरकारले प्रादेशिक अस्पताल र प्रादेशिक अस्पतालबाट मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गरेपछि अहिले प्रादेशिक अस्पतालको मातहतमा रहेका संघीय सरकारका कर्मचारी र करारका कर्मचारीहरुलाई तलबबाट वञ्चित गरिएको छ ।

लामो समयदेखि तलब नपाएको भन्दै मंगलबार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई कर्मचारीहरुको एक समूहले ज्ञापनपत्र बुझाउँदै तत्काल तलब भत्तासहित विभिन्न सेवासुविधा उपलब्ध गराउन माग गरेका छन् ।

अस्पताल विकास समिति कर्मचारी युनियन प्रादेशिक अस्पताल इकाई समितिका अध्यक्ष मोहम्मद सफी अहमद अन्सारीले मुख्यमन्त्री राउतलाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदै तत्काल तलब उपलब्ध गराउन माग गरेका छन ।

उनले प्रादेशिक अस्पतालको नाम परिवर्तन गरे पनि काममा भने खासै भिन्नता नभएको बताए । नेपाल सरकारद्वारा प्राप्त ९० प्रकारको निःशुल्क औषधिहरू सर्वसाधारणहरूलाई चौबीसै घण्टा सर्वसुलभ तरिकाबाट अस्पताल फार्मेसीबाट निःशुल्क रूपमा वितरण हुनुपर्ने, विकास समितितर्फ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ्ग, प्रशासन लगायत अन्य कर्मचारीहरूलाई मापदण्ड बनाई सो अनुसार आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्नुपर्ने माग गरिएको बताए ।

हाल विकास समितिको कर्मचारीहरू स्वतः उमेर हदका कारणले अवकाश हुँदा बिरामी बिदा, घर बिदा लगायतका सेवा अवधि जोडेर गोल्डेन हेण्डसेक सहितका सेवा सुविधा उपलब्ध गराउनु पर्ने, समितिका कर्मचारीहरूलाई नेपाल सरकारको नियमानुसार अविलम्ब सामाजिक सेवा सुरक्षामा आवद्ध गर्नुपर्ने, कोभिड–१९ को बाँकी भत्ता तुरुन्त उपलब्ध गराउनु पर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ । सो ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले प्रक्रियागत अनुसार माग सम्बोधन गर्ने बताए ।