धनुषा जिल्ला अदालतमा सेटिंगको गन्ध – १० औं पटक दिलीप हत्याको पेशी स्थगित – Madhesh Update

धनुषा जिल्ला अदालतमा सेटिंगको गन्ध – १० औं पटक दिलीप हत्याको पेशी स्थगित

   June 9, 2022  

धनुषाको मिथिला नगरपालिका–५ श्रिपुरका ओम प्रकाश महतो (दिलीप) हत्याको पेशी १० औं पटक सरेको छ । जिल्ला अदालत धनुषामा मंगलबार पनि उनको पेशी स्थगित भएको हो । यसयघि ९ पटक उनको पेशी स्थगित भइसकेको छ । अगामी असार २० गतेलाई अर्को पेशी तोकिएको छ ।

मंगलबार आरोपितको बकपत्र बुझ्ने अदालतको तयारी थियो । तर प्रतिवादीको कानून व्यवसायीमार्फत मंगलबार निर्धारण गरिएको बकपत्र स्थगित भएको बताइएको छ । उनलाई ०७६ पुस २५ गते चुरियामाई बलुवा प्रशोधन क्रसर उद्योगमा आवद्ध व्यक्तिहरुले औरही खोलामा हत्या गरेको आरोप छ । हत्या आरोपमा धनुषा प्रहरीले क्रसर सञ्चालक विपिन महतोसहित सात जनालाई पक्राउ गरेको थियो । पक्राउ परेको मध्ये धरौटी रकम बुझाएर चार जना रिहा भइसकेका छन् । दिलीप हत्या आरोपमा पक्राउ परेका रोसन कुमार यादव, विनादे महतो, सत्यनारायण महतो र सत्रुधन महतो रिहा भइसकेका छन् । मुनिन्द्र महतो, विपिन महतो र जितेन्द्र महतो पुर्वपक्षको लागि थुनामा छन् ।

न्यायको लागि दिलीपको बुबा रामजी महतो करिव साढे दुई वर्षदेखि अदालत धाइरहेका छन् । पटक पटक पेशी सर्दै गएपछि घरपरिवार निराश छन् । विस्तारै न्यायको आश मर्दै गएको उनको बुबा रामजी बताउँछन् ।

‘जघन्य अपराधको मुद्यामा पनि यति धेरै समय किन लागिरहेको छ,’उनले भावुक हुँदै भने, ‘कतै न्यायालयमै त चलखेल भएको छैन् ।’ जघन्य अपराधको मुद्दा पनि न्यायाधीशहरु विभिन्न आलटाल गरी पेशी स्थगित गर्दै आएका छन् ।

१० औं पटक पेशी स्थगित भएपछि मृतक परिवारले अदालतमा चलखेल भएको शंका गरेका छन् । ‘अदालतले पीडित परिवारसंग खेलवाड गरिरहेको छ । संवेदनशील मुद्दाको पेशी पटक पटक कसरी सर्छ ?,’ उनले प्रश्न गर्दै भने,‘ अदालमाथि चलखेल भएको शंका गर्ने ठाउँ छ नि ।’

अदालतमा न्याय खरिद विक्रि हुने गरेको उनको भनाइ छ । पेशी सार्न सक्ने न्यायाधीशले निष्पक्ष फैसला नगर्ने हो कि होइन उनी द्विविधामा छन् ।

मृतक दिलीप समाजिक कार्यमा अग्रसर थिए । स्थानीय युवाहरुको सहयोगमा अवैध क्रसर उद्योग बन्द गर्नुपर्ने अभियान चलाउँदै आएका थिए । दिलीप अगुवा भइ यस्ता गतिविधि र्निमूल पार्न प्रयास गर्दै थिए । उनलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने विभिन्न संघ संस्थाहरुले माग गर्दै आएका छन् ।