लोसपाद्धारा प्रधानमन्त्रीलाई बुझाइयो ११ बुँदे ज्ञापनपत्र – Madhesh Update

लोसपाद्धारा प्रधानमन्त्रीलाई बुझाइयो ११ बुँदे ज्ञापनपत्र

   June 7, 2022  

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरूले ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्रमा पार्टीले उठाइएका माग मुद्दाहरूको सन्दर्भमा विगतदेखि विभिन्न सरकारहरूसँग समझदारी र सम्झौता हुँदै आए पनि प्रतिबद्धतामा कुनै सम्बोधन नभएको उल्लेख गर्दै पुनः स्मरण गराउन ज्ञापन पत्र बुझाएको लोसपाले जनाएको छ।

लोसपाले जेलमा रहेका नेता रेशम चौधरी लगायतका राजबन्दीहरूलाई अविलम्ब रिहाइ गर्नसमेत माग गरेको छ। ‘‘मधेश आन्दोलन ् थरुहट आन्दोलन लगायत विभिन्न आन्दोलनमा लगाइएका झुठा मुद्दा फिर्ता गर्ने र महोत्तरी र कैलालीमा रहेका रेशम चौधरी लगायतका राजबन्दीहरूलाई अविलम्ब रिहाइ गर्ने,’’ ज्ञापन पत्रको दोस्रो बुँदामा भनिएको छ।

त्यस्तै लोसपाले नागरिक विधेयक लगायतका विभिन्न मुद्दाहरूमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको जनाएको छ। ‘‘संविधान अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रमाण पत्र प्रदान गर्ने र वैवाहिक अंगीकत सम्बन्धी हालसम्म कायम रहेको कानूनी व्यवस्थालाई निरन्तरता दिने,’’ ज्ञापन पत्रको पहिलो बुँदामा भनिएको छ।

लोसपाले बुुझाएको ज्ञापन पत्र