धनुषाको कमला नगरपालिकामा उम्मेदवारमाथि सांघातिक आक्रमण
धनुषाको कमला नगरपालिकामा बुधबार राति उम्मेदवारमाथि सांघातिक आक्रमण भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार लक्षित हिंसाका घटना नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनमाथि गम्भीर चुनौती खडा भएको छ ।
कमला नगरपालिकाको वडा नम्बर १ स्थित मंगराहामा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेदवार सर्वदेव यादवको घरमा तोडफोड गर्दै उनका ७० वर्षीय बुबा चन्द्रनारायण यादवमाथि धारिलो हतियार प्रहार भएको छ । वडा सदस्यका उम्मेदवार हरेराम भण्डारीमाथि पनि एक समूहले धारिलो हतियार प्रहार गरेको छ ।
घाइते दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । वडा अध्यक्षका उम्मेदवार सूर्यदेव यादव आफ्नो घरमा सुतिरहेको बेला बुधबार राति उनको बुबा चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरिएको थियो ।
सो समूहको आक्रमणबाट उनी गम्भीर घाइते भएका उनलाई २० भन्दा बढी टाँका लागेको छ । उनको टाउको, ढाड, खुट्टासहित शरीरको विभिन्न अंगमा चोटपटक लागेको छ ।
सूर्यदेवका भाइ पर्ने सुरेन्द्र यादवका अनुसार सूर्यदेवलाई मार्नका लागि ढोका फोर्ने प्रयास गरेको र घरपछाडिबाट सुरुङ खनेर घरभित्र प्रवेश गर्न खोजेको समेत बताए । तर दाइ सुतिरहेको घरको ढोका तोड्ने प्रयास गर्नेक्रममा आँगनमा सुतिरहेको काका (सूर्यदेवका बुबा)ले थाहा पाएलगत्तै गुहार लगाउँदा उनीमाथि नै १०/१२ जनाको समूहमा रहेका आक्रमणकारीहरुले धारिलो हतियार प्रहार गरेको उनको भनाइ छ ।
त्यस्तै सोही वडामा नेकपा एमालेको तर्फबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम भण्डारीमाथि पनि आक्रमण भएको छ । घरमा सुतिरहेको अवस्थामा आएका व्यक्तिले आक्रमण गरेको उनको दाइ किशोरीले बताए । घाइते भण्डारीको टाउको, खुट्टासहितका ठाउँमा रडले प्रहार गरिएको छ ।
गाउँकै केही व्यक्तिले ज्यान मार्ने गरी रड, लाठी र खुकुरीले आक्रमण गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले शान्ति सुरक्षालाई गम्भीररुपमा लिएको बताउँदै जिल्लाभर नै उम्मेदवारहरुको सुरक्षामाथि थ्रेट देखिएकाले यसलाई गम्भीर रुपमा लिएको बताए ।
उनले कमला नगरपालिकामा भएको घटनालाई गम्भीररुपमा नियाल्दै यसको अनुसन्धान भइरहेको बताए । उनले आक्रमणमा संलग्न व्यक्तिहरुको प्रहरीले खोजतलास गरिरहेको बताए ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै धनुषामा सयौँको संख्यामा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित नेपाली सेना समेत परिचालन भए पनि उम्मेदवार र उनीहरुको परिवारमाथि सुरक्षा थ्रेट बढेको देखिएको हो ।