प्रदेशमै सबभन्दा बढी उम्मेदवार जनकपुरमा, १ सय २७ सिटका लागी १ हजार ९७ को उम्मेदवारी – Madhesh Update

प्रदेशमै सबभन्दा बढी उम्मेदवार जनकपुरमा, १ सय २७ सिटका लागी १ हजार ९७ को उम्मेदवारी

   May 1, 2022  

१ सय २७ सिटका लागी १ हजार ९७ को उम्मेदवारी

मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रमुख दलहरु देखि मधेश केन्द्रित दलहरु सम्मको साथै प्रभावशाली व्यक्तिहरु पनि आफनो प्रभाव जमाउन स्थानिय तह निर्वाचनलाई प्रतिष्ठाको रुपमा लिएको देखिन्छ । त्यही कारण होला, मधेश प्रदेशमै सबभन्दा बढी उम्मेदवारी जनकपुरधाम उममहनगरपालिकामा परेको देखिन्छ ।

जनकपुरधामको १ सय २७ वटा सिटको लागि १ हजार ९७ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जनकपुरधामको प्रमुखमा १२ दल, २९ स्वतन्त्र गरी ४१ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा १० दल र २७ स्वतन्त्र गरी ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो मध्ये शुक्रबार मेयरमा २ जना स्वतन्त्र उम्मेदवार सहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

सत्तारुढ पाच दलीय गठबन्धनको भागबण्डामा जनकपुरधाम राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)को भागमा प्रमुख र नेपाली कांग्रेसको भागमा उपप्रमुख परेको छ । जसपाले मेयरमा निर्वातमान मेयर लालकिशोर साह र कांग्रेसले किशोरी साहलाई टिकट दिएको छ । सत्तारुढ गठबन्धनमा भागभण्डामा जनकपुरधाम जसपाको भागमा परेपछि कांग्रेस जनकपुरधाम नगरसभापति मनोज साह पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएर स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी उपमेयरमा कांग्रेसकै निर्मल चौधरी बागी भई उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेबाट जनकपुरधामको प्रमुख र उपप्रमुखमा बागी उम्मेदवारहरु भएका छन् ।
एमालेले जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिवशंकर साह (हिरा) र कांग्रेस परित्याग गरी आएका रुना झालाई उपमेयरको टिकट दिएको छ । तर लामो समयदेखि एमालेमा संलग्न रहेका रामदेव साहले मेयरमा र उमेश चौधरीले उपमेयरमाा उम्मेदवारी दिएर एमालेको बागी बनेका छन् ।

त्यसैगरी मेयरको उम्मेदवारी लिनकै लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर एमालेमा प्रवेश गरेका जनकपुरधाम–७ निर्वाचन वडाअध्यक्ष जानकी राम साह एमालेको बागी उम्मेदवारको रुपमा देखा परेका छन् । उनी मेयरमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।

यता, लोसपाका उम्मेदवार मनोज चौधरीले भने,‘ जानकी राम साह लोसपा हुँदा उनी पनि मेयरका आकाक्षी थिए । तर पार्टीलाई मलाई नै टिकट दिए पनि उनी एमालेमा गरे र एमाले पनि टिकट नदिएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी लोसपाले टिकट नदिए पछि तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले मेयरमा उम्मेदवारी दिएकी छिन ।