१७ स्थानीय तहका लागी सिरहामा ४ हजार ६९८ जनाको उम्मेदवारी दर्ता – Madhesh Update

१७ स्थानीय तहका लागी सिरहामा ४ हजार ६९८ जनाको उम्मेदवारी दर्ता

   April 27, 2022  

सिरहा जिल्लाका १७ स्थानीय तहका कुल ८५४ पदका लागि करिब चार हजार सात सय जनाले उम्मेदवारी दिएका छन् । जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिकामा मेयर/अध्यक्ष पदका लागि २९७, उपमेयररउपाध्यक्ष पदमा १३४ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार जिल्लाको १६४ वडाका अध्यक्ष पदमा एक हजार ६५, सदस्य एक हजार ६१७, महिला सदस्य ७९७ र दलित महिला सदस्य पदका लागि ६७८ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लाभरिका पालिकामा परेका उम्मेदवारी फाइलको अन्तिम रुजु गर्दैछौं,’ उनले भने, ‘केही उम्मेदवारको फाइल नमिलेकाले उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदासम्म उम्मेदवारको संख्या एकाध जना तलमाथि हुन सक्छ ।’

भूगोल र मतदाताको हिसावले जिल्लाको सबैभन्दा ठूलो स्थानीय तहको रुपमा रहेको लहान नगरपालिकामा दल र स्वतन्त्र गरी मेयरमा २०, उपमेयरमा ६ जनाले उम्मेदवारी दिएका छन् । सो नगरपालिकाका २४ वडाका लागि अध्यक्ष पदमा ११४, खुला सदस्य १८०, महिला सदस्य ९२ र दलित महिला सदस्य ८५ गरी ४९७ जनाको उम्मेदवारी परेको छ ।

दोस्रो ठूलो मतदाता संख्या रहेको सिरहा नगरपालिकामा मेयरका लागि २४, उपमेयर १०, वडाध्यक्ष १६१, खुला सदस्य २२६, महिला सदस्य ११२ र दलित महिला सदस्य ११० गरी ६३७ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोलबजार नगरपालिकामा जिल्लामै सबैभन्दा बढी उम्मेदवारी परेको छ । यहाँ मेयर पदका लागि ३०, उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, १३ वटा वडाका लागि वडाध्यक्षमा ९०, खुला सदस्य १३६, महिला सदस्य ६४ र दलित महिला सदस्य ६८ गरी ४०२ जनाले उम्मेदवारी दिएका छन् ।

यस्तै, धनगढीमाई नगरपालिकामा मेयरका लागि १६, उपमेयरमा आठ, वडाध्यक्षमा ७७, खुला सदस्यमा १३७, महिला सदस्यमा ६५ र दलित महिला सदस्यमा ६७ गरी ३७० जनाको उम्मेदवारी परेको धनगढीमाई निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।