मधेस प्रदेशको १ सय ३६ पालिकामा ३४ हजार ७४७ जनाको उम्मेदवारी
मधेस प्रदेशमा सबै भन्दा बढि उम्मेदवार
आसन्न स्थानीय तह निर्वाचनमा दशेभरबाट १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको छ । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा ७ सय ५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र गरि प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा उम्मेदवारी दर्ताका लागि आइतबार र सोमबार गरि दुइ दिन तोकिएको थियो ।
आयोगका अनुसार सबै भन्दा बढि मधेस प्रदेशमा उम्मेदवारी परेको छ ।
मधेस प्रदेशका १ सय ३६ पालिकामा विभिन्न पदमा गरि ३४ हजार ७४७ जनाको उम्मेदवारी परेको हो । मधेस प्रदेशका पालिका प्रमुखमा १३०३‚ अध्यक्षमा ८६६‚ उपप्रमुखमा ६२४ र उपाध्यक्षमा ४६१ उम्मेदवारी परेको छ ।
यो प्रदेशमा वडाअध्यक्षमा ८३०४ , सदस्यमा ११८८६ ,महिला सदस्यमा ५८०२ र दलित महिला सदस्यमा ५५०१ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा भने देशभरका ७ सय ५३ पालिकामा गरि १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २ हजार ९ सय ८७ र उपप्रमुखमा १ हजार ८ सय ५२ जनाको उम्मेदवारी परेको छ ।
गाउँपालिका अध्यक्षमा ३ हजार १ सय ८ र उपाध्यक्षमा २ हजार १ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ ।
वडाध्यक्षमा २८ हजार २ सय १४, महिला सदस्यमा १९ हजार ९ सय ३४, दलित महिला सदस्यमा १७ हजार ९ सय ९७ र वडा सदस्यमा ४१ हजार ८ सय ४२ जनाले उम्मेदवारी दिएका छन् ।
यो तथ्यांक अन्तिम नभएको र अहिले पनि विवरण अद्यावधिक भइरहेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।
मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन भएपछि मात्रै यकिन उम्मेदवारको विवरण थाहा हुने उनले बताए ।