मेयरको टिकट नपाएपछि मधेश प्रदेशका मन्त्रीले लिए राजीनामा फिर्ता – Madhesh Update

मेयरको टिकट नपाएपछि मधेश प्रदेशका मन्त्रीले लिए राजीनामा फिर्ता

   April 26, 2022  

मेयरमा लड्ने भन्दै राजीनामा दिएका एक मन्त्रीले टिकट नपाएपछि अन्ततः राजीनामा पत्र फिर्ता लिएका छन् । मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादवले सिरहा नगरपालिकाको मेयरमा लड्ने भन्दै शुक्रबार मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

तर नेकपा एकीकृत समाजवादीलाई मेयर पद नदिने सत्ता गठबन्धनको निर्णयपछि उनले राजीनामा फिर्ता लिएका हुन् । मन्त्री यादवले भने, ‘मेयरको टिकट नपाएपछि मन्त्री र प्रदेश सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएको छु ।’

उनले राजीनामाका लागि शुक्रबार दिउँसो प्रदेशसभा सचिवालयमा निवेदन दिएपनि दर्ता नभएकोले आइतबार विहान राजीनामा फिर्ता लिन सहज भएको बताए । प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार मन्त्री पदबाट यादवले दिएको राजीनामा प्रदेशसभा सचिवालयमा दर्ता गर्न बाँकी रहेको थियो । दर्ता हुन बाँकी भएकै कारण ले राजीनामा फिर्ता लिन सहज भएको उनले बताए ।