मधेस प्रदेशमा सत्तागठबन्धन- जिल्ला अध्यक्षहरु विफ्रिग देखि काग्रेसको छुटै बैठक – Madhesh Update

मधेस प्रदेशमा सत्तागठबन्धन- जिल्ला अध्यक्षहरु विफ्रिग देखि काग्रेसको छुटै बैठक

   April 18, 2022  

मधेस प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धनको आइतवार र सोमवार बैठक बसेको छ । आइतबार बेलुकादेखि सुरु भएर स्थगित भएको बैठक सोमबार बिहान ११ बजे बसेको थियो ।  स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने विषयमा जनकपुरस्थित जसपा नेपालको कार्यालयमा गठबन्धनको बैठक बसेको थियो । गठबन्धन आबद्ध दलका अध्यक्ष र नेताहरूको उपस्थितिमा भएको बैठकमा तालमेलको मोडालिटी छलफल भए पनि कुनै ठोस निष्कर्ष निस्केको छैन ।

पछिल्लो पटक बसेको सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेसम्म प्रतिवेदन पेस गर्न प्रदेशलाई निर्देशन दिएको थियो । केन्द्रको त्यही निर्देशनअनुसार प्रदेश अध्यक्षहरूको बैठक बसिरहेको छ । आइतबार भएको बैठकमा गठबन्धनका दलहरूले हरेक पालिकाको जिल्ला स्तरीय रिपोर्टिङ भएको र आआफ्नो तर्फबाट पार्टीगतरुपमा प्रस्तुत गरेको जसपा मधेस प्रदेश समितिका मुख्यसचिव दिनेशकुमार यादवले जानकारी दिए ।

बैठकमा नेपाली काँग्रेस मधेस प्रदेश समितिका अध्यक्ष कृष्णप्रसाद यादव, काँग्रेसका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादव, नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिका इन्चार्ज गणेश साह, जसपा नेपाल मधेस प्रदेश समिति अध्यक्ष रामबाबु यादव, नेकपा एकीकृत समाजवादी मधेस प्रदेश समितिका इन्चार्ज धर्मनाथ साहलगायतका नेताहरूको सहभागिता रहेको छ ।

गठबन्धन दलले गरे जिल्ला अध्यक्षहरूसँग छलफल

मधेस प्रदेश पाँच दलीय गठबन्धनले सोमवार जिल्ला अध्यक्षहरूसँग छलफल गरेको छ । आइतबारदेखि सुरु भएको गठबन्धनको बैठक सोमवार केहि समय स्थगित गरेर प्रदेशका आठवटै जिल्लाका अध्यक्षहरूसँग छलफल गरेका थिए ।

जिल्ला अध्यक्षहरूसँग पालिकाको अवस्था बुझ्न छलफल गरिएको गठबन्धनले जनाएको छ । गठबन्धनको बैठक नेपाली काँग्रेस मधेस प्रदेश कार्यालयमा बसेको थियो । बैठकमा जिल्ला अध्यक्षहरूसँग दुई चरणमा छलफल गरिएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज गणेश साहले जानकारी दिए ।

काँग्रेस छुट्टै बैठक
मधेश प्रदेश गठबन्धनको बैठकबाट बाहिरिएको नेपाली काँग्रेसले छुट्टै बैठक गरेको छ । सोमबार बिहानदेखि सुरु भएको गठबन्धनको बैठकबाट बाहिरिएको काँग्रेसले आफ्नो पार्टी कार्यालयमा छुट्टै बैठक गरेको थियो ।

गठबन्धन आबद्ध दलका अध्यक्ष र नेताहरूको उपस्थितिमा तालमेलको मोडालिटी टुङ्गो लगाउनेबारे ठोस निष्कर्ष लगाउन सकिने सम्भावना रहेको नेताहरूले बताए पनि काँग्रेस बैठकबाट बाहिरिए पछि विशेष रुपमा हेरिएको छ ।