घुस रकम फालेर भागेका गाउँपालिका अध्यक्षलाई एमालेले फेरि टिकट दियो – Madhesh Update

घुस रकम फालेर भागेका गाउँपालिका अध्यक्षलाई एमालेले फेरि टिकट दियो

   April 16, 2022  

घुसकाण्डमा मुछिएका गाउँपालिका अध्यक्ष वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेले फेरि अध्यक्षको उम्मेदवार बनाएको छ। धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतलाई दोहोर्‍याउने एमाले उम्मेदवार बनाउने निर्णय गरेको हो। उनलाई एमाले गाउँपालिका कमिटीले सर्वसम्मत रूपमा अध्यक्ष बनाउने निर्णय गरेको हो।

उम्मेदवारीका लागि एमालेका पालिका अध्यक्ष रामखेलावन महतो, हीरालाल महतो, श्याम महतो, दिलीप लामा, रामपुकार महतोलगायतले पनि दाबी गरेका थिए। तर राउतको पक्षमा अधिकांश दाबेदार उभिएपछि उनले टिकट पाउने भएका हुन्।

१७ फागुन २०७७ मा कार्यालयको प्रशासनिक भवन निर्माणमा ठेकेदारसँग ८ लाख रुपैयाँ घुस लिएको उनीमाथि आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ। धनुषाको महेन्द्रनगरमा घुसबापतको रकम लिएर फर्कँदै गर्दा अख्तियारको टोलीले उनलाई पछ्याएपछि उनले बाटैमा पैसा फालेर भागेका थिए।

केही रकम उनी सवार सरकारी गाडीबाट बरामद भएको थियो। अख्तियारको टोलीले घुस रकमसहित अध्यक्ष चढेको गाडीका चालक वीरबहादुर मगरलाई भने नियन्त्रणमा लिन सफल भएको थियो।