५० स्थानीय तह जित्ने लोसपाको रणनिती, एमालेसंग तालमेल हुन सक्ने – Madhesh Update

५० स्थानीय तह जित्ने लोसपाको रणनिती, एमालेसंग तालमेल हुन सक्ने

   April 16, 2022  

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ५० स्थानीय तह जित्ने गरि स्थानिय तह निर्वाचन रणनिती बनाएर अघि वढेको छ । तत्कालीन जनता समाजवादी पार्टी(जसपा)बाट विभाजन भएको लोसपाले एक्लै ५० स्थानीय तह जित्ने प्रक्षेपण गरेको छ । नेकपा एमालेसँग चुनावी तालमेल भएमा त्यो भन्दा बढी जित्न सकिने नेताहरूले बताएका छन् ।

आइतबार लोसपा जनकपुर उपमहानगरपालिकाको नगर समिति बैठकले ५/५ जना मेयर उपमेयरको नाम सिफारिस गरेको छ । मेयरमा मनोज चौधरी, परमेश्वर साह, जानकीराम साह, अमर परियार र सञ्जय चौधरी छन्। यस्तै उपमेयरमा विभा ठाकुर,विभा पाण्डे,रीता मिश्रा, पुनम झा मैथिल र पुनम साहको नाम सिफारिस भएको छ। मेयर र उममेयरमा सर्वसम्मत नभएपछि ५/५ जनाको नाम सिफारिस गरिएको हो।

कलैया उपमहानगरपालिका मेयर उपमेयर यसअघि दुवै काँग्रेसले जिते पनि यस पटक लोसपाको जित्न सकिने लिष्टमा छ। तर, सजिलै जित्न भने गाह्रो भएको एकवाल मियाँले स्वीकार गरे । यदि एमालेसँग गठबन्धन भएमा भने सजिलै जित्न सकिने आङ्कलन छ। अरू नगरपालिका र गाउँपालिका गरेर ५० स्थानीय तह जित्न सकिने मियाँको दाबी छ। लोसपाको मधेस प्रदेशमा सबैभन्दा बढी राम्रो जनमत भएकाले त्यहाँ भएका १३६ स्थानीय तहबाटै धेरै जित्ने दाउमा छ। अरू लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा सङ्गठन राम्रो नभए पनि जित्ने अपेक्षा छ।

यसअघि राजपाबाट २४ स्थानीय तहमा दोस्रो भएर पराजित भएकाले त्यसलाई समेत पहिलो भएर जित निकाल्ने लोसपाको अर्को रणनीति छ। लोसपाले यसअघि कुल २५ स्थानीय तह प्रमुख र ३१ उपप्रमुख मात्रै जितेको थियो। लोसपाले सबै स्थानीय तहमा उठ्ने उम्मेदवारको नाम टुङ्ग्याउन आजसम्मको समय दिएको छ। लोसपा जिल्ला पर्यवेक्षकहरूको विस्तारित बैठकले गत शुक्रबार तीन दिनको समय दिई स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। स्थानीय तहमा उठ्ने उम्मेदवारको सकेसम्म सर्वसम्मत नभए आकाङ्क्षीहरूको नाम केन्द्रमा पठाउन आग्रह गरिएको हो। सबै उम्मेदवारको नाम सिफारिस भएपछि कार्यकारिणी समिति बैठकले सबै उम्मेदवारको नाम फाइनल गर्नेछ ।

एमालेसँग तालमेल हुन सक्ने

लोकतान्त्रिक समाजवादी पार्टी एमालेसँग चुनावी तालमेलको संवादमा छ। दुवै पक्षले चुनावी तालमेल गर्ने विषयमा छलफल चलाइरहेका छन्। काँग्रेससँग चुनावी तालमेल इच्छा भए पनि सत्ता गठबन्धनमा धेरै दल भए पनि लोसपा एमालेसँग चुनावी तालमेल गर्न संवाद अघि बढाएको हो। एमालेसँग चुनावी तालमेलका विषयमा छलफल भए पनि टुङ्गो भने लागि नसकेको लोसपा नेता मियाँले बताए। यद्यपि एमालेसँग चुनावी तालमेलको संवादमै भएको उनले दाबी गरे।