सर्लाहीमा विद्यालय जाँदै गरेकी छात्राको क्रेनको ठक्करबाट मृत्यु – Madhesh Update

सर्लाहीमा विद्यालय जाँदै गरेकी छात्राको क्रेनको ठक्करबाट मृत्यु

   March 31, 2022  

ठक्कर दिने क्रेन स्थानीयले आगो लगाइदिए

क्रेनको ठक्करबाट विद्यालय जाँदै गरेकी छात्राको मृत्यु भएपछि आक्रोशित स्थानीयले ठक्कर दिने क्रेनमा आगजनी गरेका छन्। सर्लाहीको बागमती नगरपालिकाको राजघाटमा आज बिहान क्रेनको ठक्करबाट साइकल चढेर विद्यालय जाँदै गरेकी १७ वर्षीय किशोरीको मृत्यु भएको थियो।

आगोले जलेर क्रेनको आधाभन्दा बढी भाग क्षतिग्रस्त भएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आक्रोशित विद्यार्थी र महिलाहरूको उल्लेख्य भीड छ। घरबाट नव जनजागरण माविमा अध्ययनका लागि साइकलमा गइरहेकी स्थानीय सुमित्रा परियारलाई विपरीत दिशाबाट आएको क्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ। क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको थियो।

घटनास्थलमा जब जनजागरण माविका विद्यार्थीहरूले नारा जुलुससहित विरोध प्रदर्शन गरिरहेका छन्। आक्रोशित स्थानीयले आगो नियन्त्रणका लागि आएको हरिवन नगरपालिकाको दमकल पनि फर्काइदिएका थिए। उनीहरूले छात्राको शवसमेत घटनास्थलबाट उठाउन दिएका छैनन्।

क्रेनमा रहेका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। क्रेनका चालकहरूलाई घटनास्थलमै ल्याउनुपर्ने भन्दै स्थानीयले माग गरेका छन्।