लोसपाका शिर्ष नेताहरु र प्रधानमन्त्री विच छलफल – Madhesh Update

लोसपाका शिर्ष नेताहरु र प्रधानमन्त्री विच छलफल

   March 30, 2022  

प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका शीर्ष नेताहरूबीच बुधवार साझ छलफल भएको छ । प्रम देउवासग भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर सहित नेताहरु राजेन्द्र महतो, शरद सिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए ।
लोसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकमा निर्वाचन केन्द्रित गतिविधि तथा सरकारमा जाने नजाने विषयमा छलफल भएको थियो। केही हप्ताअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग लोसपाका शीर्ष नेताहरूको संवाद भएको थियो।
त्यसक्रममा लोसपाले उठाउँदै आएको मुद्दाहरू सम्बोधन गर्नेगरी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र लोसपाका नेताद्वय सर्वेन्द्रनाथ सुक्ला र लक्ष्मणलाल कर्ण सम्मिलित तीन सदस्यीय कार्यदल बनेको थियो।
त्यसयता, दुई पटक कार्यदलको बैठकसमेत भएको छ। गत आइतबार लोसपा अध्यक्ष ठाकुर पुनः प्रधानमन्त्रीसँग भेट गरेका थिए।

लोसपा कार्यकारणी समिति बैठक सुुरु
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको कार्यकारणी समिति बैठक बुधबारदेखि शुरु भएको छ।

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा लोसपाले कार्यकारणी समिति बेठक गरेर निर्वाचनकेन्द्रित रणनीति बनाउन लागेका हुन्। यसअघि लोसपाले जनकपुर, वीरगञ्ज, भैरहवा र नेपालगन्जमा पार्टी प्रशिक्षण कार्यक्रम गरेको थियो।

२८ सदस्यीय लोसपाको कार्यकारणी समिति बैठकमा बुधबार एजेण्डाहरू प्रस्तुत गरिएको छ। र त्यसमाथि नेताहरूले बोल्ने क्रम शुरु भएको छ। बैठकमा स्थानीय निर्वाचनसहित सरकारसँग पछिल्लो समयमा पार्टीका शीर्ष नेताहरूले गरिरहेको संवादबारे छलफल शुरु भएको छ। बैठक बिहीबार पुनः बस्ने लोसपाले जनाएको छ।

गत भदौमा जसपा नेपालबाट अलग भएर महन्थ ठाकुरसहित नेताहरूले लोसपा नेपाल गठन गरेका थिए। एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा उपेन्द्र यादव र महन्थ ठाकुरबीच विवाद भएपछि ठाकुर पक्षले छुट्टै दल दर्ता गराएका थिए।

नयाँ दल गठन गरेको ८ महीनामा लोसपाको एक पटक मात्रै कार्यकारणी समिति बैठक बसेको छ। पार्टी गतिविधिमा सुस्त देखिएको लोसपा निर्वाचन नजिकिएपछि पार्टी गतिविधिमा केन्द्रित हुन थालेको छ।