संघिय सरकारमा मन्त्री रहेका जसपा नेताहरुलाई फिर्ता गराउन उपेन्द्र यादवमाथि दबाब – Madhesh Update

संघिय सरकारमा मन्त्री रहेका जसपा नेताहरुलाई फिर्ता गराउन उपेन्द्र यादवमाथि दबाब

   March 30, 2022  

जनता समाजवादी पार्टी (जसपा) का केही नेताहरूले अहिले संघीय सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन माग गरेका छन्। पार्टीले पाएको चार मन्त्रालयमा अहिलेका मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउन अध्यक्ष यादवमाथि दबाब दिइएको नेताहरूले बताएका छन्।

पहिले मन्त्री छान्दा छ महिनाभित्र हेरफेर गर्ने कुरा भएको थियो।

‘संसदीय दल र कार्यकारिणी समिति बैठकमा पनि अध्यक्ष यादवले छ महिनापछि नयाँ मन्त्री पठाउने हो भन्नुभएको थियो,’ केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा राष्ट्रिय सभा सांसद मृगेन्द्रकुमार सिंहले भने, ‘देउवा सरकार बनेको छ महिना कटिसक्यो, अब मन्त्री फेर्नुपर्छ भनेर अध्यक्षलाई भनेका छौं।’

गत असार २९ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका थिए।

आफूहरूले मन्त्री फेर्न पार्टीभित्र माग गरे पनि अध्यक्ष यादवले भने चुनावपछि मात्रै फेर्न सकिने बताएको उनले जानकारी दिए।

‘मन्त्री फेर्नुपर्‍यो भन्दा अध्यक्ष हाँस्नुहुन्छ, फेर्ने हो भन्नुहुन्छ,’ उनले भने, ‘चुनावको मुखमा भन्दा पनि स्थानीय चुनावपछि मन्त्री फेर्ने भन्नुभएको छ।’

जसपामा मन्त्री हुन आकांक्षी धेरै हुँदा व्यवस्थापन गर्न अध्यक्ष यादवलाई चुनौती छ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।