मधेस प्रदेशसभा बैठकमा गणपूरक संख्या पुगेन, बैठक स्थगित – Madhesh Update

मधेस प्रदेशसभा बैठकमा गणपूरक संख्या पुगेन, बैठक स्थगित

   March 30, 2022  

मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ । प्रदेश सांसदहरुको उपस्थिति कम भएर गणपूरक संख्या नपुग्दा बैठक २ मिनेट बसेर वुधवार स्थगित भएको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् । उनले बैठकलाई स्थगित गर्न सभामुखसँग आग्रह समेत गरेका थिए ।

त्यस्तै अर्का प्रतिपक्षी नेकपा एमालेका प्रदेश सांसद किशोरी साहले मन्त्रीहरुलाई प्रदेश सभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताए । उनले मन्त्रीहरुले आफ्नो कामको नाममा व्यस्त रहेको भन्नु प्रदेशसभा बैठकलाई बेवास्ता गर्नु रहेको बताए । त्यसपछि सभामुख सरोज कुमार यादवले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।

आज बसेको बैठकमा १३ जना प्रदेश सांसदको उपस्थिति रहेको थियो । बैठक सञ्चालनका लागि २६ जना प्रदेश सांसदको उपस्थिति अनिवार्य रहेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।