पर्साको पटेर्वासुगौलीमा मनोसामाजिक परामर्श सुुरु – Madhesh Update

पर्साको पटेर्वासुगौलीमा मनोसामाजिक परामर्श सुुरु

   March 28, 2022  

एकै दिन १४ जना छात्रा बेहोस भएको पटेर्वासुगौली गाउँपालिकामा मनोसामाजिक परामर्श दिइएको छ । नारायणी अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्स अहेमा थापाले मनोसामाजिक परामर्श दिएकी हुन् ।

गाउँपालिकाको वडा नम्बर–४ सुगौली दापस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ९ चैतमा एकै दिन १४ जना छात्रा बेहोस भएका थिए । उनीहरु मध्ये ४ जनालाई नारायणी अस्पतालमा उपचार गरेर लगिएको थियो ।

पढाइ भईरहेकै बेला छात्राहरु अचानक बेहोस भएपछि शिक्षक, अभिभावक मात्रै नभएर स्थानीय स्वास्थ्यकर्मीसमेत आत्तिएका थिए । घटना भएको भोलिपल्टै नर्स अहेमा थापाले नारायणी अस्पतालमा उपचारका लागि आएकाहरु र उनीहरुको अभिभावकसँग भेट गरेकी थिइन् । उनीहरुमा ‘कन्भर्जन डिस अर्डर’ को समस्या देखिएको पुष्टी भएपछि मनोसामाजिक परामर्श दिइएको नर्स थापाले बताइन् ।

‘यो शारीरिक रोग हैन, न भूत प्रेतले सताएर हुने हो । वैज्ञानिक रुपमै प्रमाणित छ की मन भित्रको तनावका कारण शरीरले प्रतिक्रिया देखाएको हो’, उनले भनिन्, ‘यस्तो बेलामा औषधि भन्दा पनि मनोसामाजिक परामर्श आवश्यक पर्छ ।’

‘कन्भर्जन डिस अर्डर’ भएपछि चिच्याउने, भाग्ने, बर्बराउने, बेहोस हुने समस्या देखिन्छ । नर्स थापाले आइतबार गाउँमै गएर समस्या देखिएका छात्राहरु, जोखिममा रहेका छात्राहरु, अभिभावक एवं व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई समस्या र समाधानका उपायहरुको बारेमा जानकारी गराएकी छन् ।

विद्यालयका प्रधानाध्यापक मोहन दास थारुले परामर्श निकै लभदायक भएको बताए । ‘पहिला कस्तो समस्या हो भनेर आत्तिएका थियौं, नर्स थापाको काउन्सिलिङ पछि अब आफैं तालिम दिन सक्ने भएका छौं’, उनले भने, ‘घरबाट बेहोस अवस्थामा आएका विद्यार्थी हिँडेर घर गएका छन् ।’