सिमसार जोगाउन कोशी टप्पु क्षेत्रको ४५ हेक्टर क्षेत्र हराभरा पारिँदै

सिमसार क्षेत्र जोगाउन कोशीटप्पु वन्यजन्तु आरक्षअन्तर्गत रहेको मध्यवर्ती क्षेत्रको ४५ हेक्टर क्षेत्र सफाइको काम थालिएको छ ।
सिमसार मासिदा लोप हुन थालेका माछा र चरासहितका सरिसृप प्रजाति जोगाउने उद्देश्यले आरक्ष हातासँगै मध्यवर्ती क्षेत्रमा पर्ने सिमसार क्षेत्र संरक्षणको काम अघि बढाइएको हो ।
संरक्षणअन्तर्गतको काममा सिमसारमा आश्रित समूदायलाई रोजगारी प्रदान गरिएको छ । जीविकोपार्जन सहयोगका रुपमा स्थानीय जनशक्ति परिचालन गरी सिमसारबाट जलकुम्भीका साथै मिचाहा प्रजातिका झारपात हटाउने कार्यलाई अघि बढाइएको छ ।
सिमसार सफाई थालेसँगै स्थानीयले परिवर्तनको आभाष समेत गर्न थालेका छन । हराउँदै गएका माछा र चराको विचरण बढ्न थालेको उनीहरुले बताएका छन् ।
संरक्षित क्षेत्रका रुपमा रहेको कोशीटप्पुको सिमसार क्षेत्र पछिल्लो समय भने जलकुम्भी र मिचाहा प्रजातिका कारण मासिँदो क्रममा छ । सफाइको क्रममा सिमसार क्षेत्रबाट निकालिएको जलकुम्भीलाई कम्पोष्ट मल बनाउने गरी तयारी समेत गरिएको छ ।
मावन र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्दै चरा र वन्यजन्तुको संरक्षणको उद्देश्य साथ कोशी टप्पु टु कन्चनजंगा बेल्ट परियोजनाअन्तर्गत कोशी टप्पुमा संरक्षणका काम अघि बढाइँदै आएको हो ।
परियोजनाअन्तर्गत सिमसार क्षेत्र बढाउन ४५ हेक्टर जग्गा खरिद समेत गरी सकिएको छ ।
थप जग्गा खरीदको क्रम समेत अघि बढाइएको छ । सिमसार तथा सिमसारमा आश्रित जलचर र जीवजन्तुको संरक्षण गर्नु बेल्टको प्रमुख उद्देश्य रहेको छ ।
बेल्ट अन्र्तगत सुनसरीतर्फको सिमसार संरक्षण तथा त्यसको प्रर्वद्धनको जिम्मेबारीको काम भने कोशी टप्पु लर्निङ ग्राउण्डले हेर्दै आएको छ ।
क्षेत्र विस्तारसँगै सिमसारलाई २०६५ मा कोशी बाँँध फुट्नु पूर्वको अवस्थामा फर्काउन केटीके बेल्ट र भर्टिकल वायोडाईभसिटी फण्डले सो क्षेत्रमा ठूलो धनराशी खर्च गर्दैछ ।
वातावरणीय परिवर्तन र जैविक विविधताको संरक्षणमा बैज्ञानिक विधि अवलम्बन गर्दै अघि बढ्ने लक्ष्य लिएको परियोजनाले सिमसार सफाई, क्षेत्र विस्तार र अध्ययन अनुसन्धानको काम अघि बढाउदै लगेको छ ।
त्यसका साथै माछा तथा चरासँगै सिमसारमा आश्रित जीवजन्तुको वासस्थान पहिल्याउँदै दिगो संरक्षणमा जोड दिन नेपाल र भारत दुई देश सम्मिलित विज्ञ टोलीले अध्ययन तथा अनुसन्धानको काम थाल्ने गरी तयारी समेत थालेको कोशी टप्पु लर्निङ ग्राउण्डले जनाएको छ ।