मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित

मधेस प्रदेशको प्रदेशसभा बैठक चौथो पटक पनि स्थगित भएको छ । बुधवार १ बजेका लागि बोलाइएको बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । अब शुक्रवार २ बजे बोलाइएको प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।
यस अघि फागुन २२ गते बोलाइएको बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित भएको छ । यसअघि फागुन १ गते, फागुन १० गते र फागुन २२ गते बोलाइएको बैठक स्थगित गरिएको थियो । फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका थिए भने १० गते बोलाइएको बैठकको समय सभामुख सरोज कुमार यादव सभामुखहरूको सम्मेलनमा पोखरा गएका थिए ।
त्यस्तै फागुन २२ गते बोलाइएको बैठक नेपाली काँग्रेस जिल्ला अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतका व्यक्तिहरू मधेस प्रदेशको भ्रमणको क्रममा रहेकाले स्थगित गरिएको थियो ।